काठमाडौं । ‘जनता समाजवादी पार्टी नेपाल’ निर्वाचन आयोगमा दर्ता भएको छ। बिहीबार दुवै दलका शीर्ष नेताहरु आयोगको कार्यालयमा पुगेर पार्टी दर्ता गराएका हुन् । बुधबार मध्यरातमा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकता गर्ने समझदारी भएको थियो ।
सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेसँगै समाजवादी पार्टी फुटको संघारमा पुगेको थियो । फुटलाई रोक्नका लागि रातारात पार्टी एकताको समझदारी भयो । ‘जनता समाजवादी पार्टी नेपाल’ १३८८औं नम्बरमा दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । नवगठित दलले दल दर्ताका लागि दिएको निवेदनमा आवश्यक कागजात भने बुझाएको छैन ।
पार्टी एकताका लागि भएको सहमतिपत्रसहित निवेदन दर्ता गराइएको छ । निवेदनमा अन्य आवश्यक कागजात लकडाउन खुलेपछि बुझाइने उल्लेख छ । दल दर्ताका प्रक्रियाका लागि घोषणापत्र, झण्डा, चुनाव चिन्हको नमूना, कम्तीमा पाँचसय जना मतदाताले दलको सदस्यता प्राप्त गर्न गरेको प्रतिबद्धता पत्र र नागरिकता वा मतदाता परिचय पत्रको प्रमाणित प्रतिलिपी सहितको हस्ताक्षर पनि आवश्यक पर्छ ।
दुई पार्टी तत्काल एकता गरी एकीकृत पार्टीको नाउँमा दल दर्ता गराए पनि पार्टी एकताको विस्तृत कार्य लकडाउनपछि गर्ने नेता राजेन्द्र महतोले प्रतिक्रिया दिए । ‘दल दर्ताका लागि निवेदन दियौं। बाँकी प्रक्रिया लकडाउन पछि पूरा गर्छौं । अब पार्टी फुट्दैन,’ निवेदन दर्तापछि महतोले भने ।
निर्वाचन आयोगमा समाजवादीका तर्फबाट उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ सहभागी थिए भने राजपाका तर्फबाट राजेन्द्र महतो र शरद सिंह भण्डारी सहभागी भएका थिए । बुधबार राति समाजवादीबाट उपेन्द्र यादव, बाबुराम भट्टराई, अशोक राई, राजेन्द्र श्रेष्ठ र राजपाबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरत सिंह भण्डारीले पार्टी एकताको सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।
सहमतिअनुसार दुई पार्टीबीच समानताका आधारमा एकीकरण गर्ने, एकिकृत पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल राख्ने, एकीकृत पार्टीको झण्डा समाजवादी पार्टीले प्रयोग गर्दै आएको आयातकारमा रातो र हरियो रङको बीचमा तारा हुने र एकीकृत पार्टीको चुनाव चिन्ह राजपा नेपालले प्रयोग गर्दै आएको छाता चिन्ह प्रयोग गर्ने सहमति भएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनसम्बन्धी कानुन परिमार्जन गरेर पार्टी फुटाउने खेल रचेको दुबै पार्टीले आरोप लगाएका छन् । सरकारले वैधानिकरुपमै आ-आफ्नो पार्टी फुटाउन उद्यत भएपछि एक वर्षअघि देखि छलफलमै रोकिएको दुबै पार्टीबीच एकता घोषणा भएको बताइएको छ ।



