काठमाडौं । नेपालकी दोस्रो कोरोना संक्रमित युवती निको भएर घर फर्किएकी छन् । फ्रान्सबाट आएकी १९ वर्षीया ती युवती २७ दिन उपचारपछि निको भएर आज घर फर्किएकी हुन् ।
फ्रान्सबाट कतार हुँदै नेपाल आएकी उनीमा कोरोनाभाइरस पुष्टि भएपछि गत चैत ९ गते राति उपचारका लागि टेकु अस्पताल भर्ना भएकी थिइन् । २७ दिन अस्पताल बसेकी उनले आफू पूर्ण निको भएर फर्किएको प्रतिक्रिया दिएकी छन् । साथै उनले आफ्नो उपचारमा चिकित्सक र स्वास्थ्यकर्मीले राम्रो सहयोग गरेको समेत बताएकी छन् ।
काठमाडौं घर भएकी ती युवती चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन् । फ्रान्सदेखि कतारसम्म सँगै जहाजमा आएको भियतनामको साथीमा कोरोना संक्रमण पुष्टि भएपछि उनी स्वास्थ्य जाँचका लागि चैत ९ गते टेकु अस्पताल पुगेकी थिइन् । त्यहाँ नमुना जाँच गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।
हिजो एकैदिन थप १४ जना कोरोना संक्रमित थपिएछि नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । संक्रमितमध्ये दुई जना निको भएर घर फर्किएका छन् ।




