बिकेन किसानको दुधः खेतमा फाल्दै, छिमेकीलाई बाँड्दै सकाउँछन्

जीतपुर । कोभिड–१९ को सम्भावित संक्रमण रोक्न नेपाल सरकारले देशैभर लकडाउन घोषणा गरेपछि कपिलवस्तुको ग्रामीण क्षेत्रका पशुपालक किसान प्रभावित भएका छन् ।

ती पशुपालक किसानका दूध दिने पशुबाट दूध उत्पादन घटेको छ । उत्पादन भएको दूधसमेत बिक्री नहुँदा पशुपालक किसानले ठूलो नोक्सानी ब्यहोर्नुपरेको छ ।

कपिलवस्तुमा किसानले उत्पादन गरेको दूध नबिकेपछि खेतमा फाल्नुपर्ने अवस्थासमेत सिर्जना भएको छ । वाणगङ्गा नगरपालिका– ४ मा रहेको ट्विन्स डेरी उद्योगले दुई दिनमा १६ हजार लिटर दूध खेतमा फाल्नुपरेको बताएको छ । दुग्ध विकास संस्थानले दूध नकिनेपछि बाध्य भएर बारीमा फाल्नुपरेको सञ्चालक इन्दिरा पौडेलले बताइन् ।

वाणगङ्गा नगरपालिका, व्यावसायिक पशुपालन समितिका सचिव तथा सक्रिय कृषक जयलाल गिरीका गोठमा पैँसठ्ठी बाख्रा र अठ्चालीस गाईभैँसी छन् ।

घाँस पनि पर्याप्त मात्रामा उत्पादन हुन नसक्नु र दानाको अयातनिर्यात नै बन्द भई पशुलाई पर्याप्त खाना दिन नसक्दा उत्पादनमा ८० प्रतिशत गिरावट भएको उनको गुनासो छ । गिरीले भने, ‘अब गोठमा बाँधिएका गाईभैँसी तथा बाख्रालाई कसरी जोगाउने भन्ने ठूलो चिन्ता छ ।’

उनका अनुसार पहिले खर्च कटाएर पनि मासिक एक लाखसम्मको आम्दानी हुने सो व्यवसायमा अहिले ८० प्रतिशत घाटा भइरहेको छ ।

वडा नम्बर–८ बोडगाउँका खुमानन्द पौडेलले २४ गाई पालेका छन् । उनले यसअघि गाईपालनबाट मासिक रु ८० हजार आम्दानी गर्दै आएका थिए । यतिबेला दूध उत्पादन घट्नु तथा बन्दाबन्दीले दाना पाउन नसक्नुले आम्दानी घटेको छ ।

वाणगङ्गा क्षेत्रमा मात्र झण्डै तीन सय पशु फार्म दर्ता भए पनि हाल डेढ सयभन्दा बढी मात्र सक्रिय रहेको नगरका पशु शाखा प्रमुख राजकुमार तिवारीले बताए । तिनमा तीन ठूला र चारपाँच साना डेरी छन् । लकडाउन खुलेपछि प्रभावित किसानको समस्या सम्बोधनका लागि नगरपालिकाले योजना बनाउने तिवारीले जानकारी दिए ।

जिल्लाभित्रका पशुपालक किसानको पीडा उस्तै भएको कपिलवस्तु जिल्लाका भेटेरीनरी पशु चिकित्सक दुर्गाप्रसाद खनालको भनाइ छ । कोरोनाको त्रासले बजारमा माग कमी भएकाले दूध तथा मासुजन्य खाद्य पदार्थले बजार मूल्य नपाउँदा यतिबेला किसान प्रत्यक्ष-अप्रत्यक्ष मारमा परिरहेको खनालको बताउँछन् । दानाका लागि भारतबाट कच्चा पदार्थ आउन नसक्दा नेपालका उद्योग धरापमा पर्ने अवस्था आउने उनको आँकलन छ । रासस

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री