फाेर्ब्सको सूचीमा परेकी गल्फर प्रतिमा भन्छिन्- ‘कोरोनाले खुशी साँट्नै पाइनँ’

काठमाडौं । दुई दिनयता प्रतिमा शेर्पाको मन उकुसमुकुस भइरहेको छ । उनी घरी सामाजिक सञ्जाल नियाल्छिन त घरी विश्वभरिका समाचारलाई पछ्याइरहन्छिन् ।

उनको मन बसमा छैन । कल्पनामा डुबिरहन्छिन् प्रतिमा । कोरोना भाइरसका कारण अल्यासतल्यास भएकी छिन् । उनको शरीर अमेरिकामा त मन नपालमै छ । अमेरिकामा दिनप्रदिन बढ्दै गएको कोरोना भाइरसको सङ्क्रमणका कारण प्रतिमा कहीँकतै निस्कन मिल्ने अवस्था छैन ।

हाल अमेरिकाको क्यालिफोर्नियामा स्नातक तहमा अध्ययनरत प्रतिमा बिहीबार फाेर्ब्स पत्रिकाले सार्वजनिक गरेको सन् २०२० को एशियाका ३० वर्षमुनिका ३० युवा प्रतिभाशाली व्यक्तिको सूचीमा परेकी एक मात्र नेपाली खेलाडी हुन् ।

उनी नेपालको एक नम्बरकी महिला गल्फ खेलाडी हुन् । फाेर्ब्सले सार्वजनिक गरेको ३०० जनाको सूचीमा नेपालका छ युवा परेका छन् । उनीसँगै सूचीमा परेका निकिता आचार्य, किरण तिम्सिना, शुभाङ्गी राणा, जेसलिना राणा र रोहित तिवारी भने उद्यमी हुन् ।

बीस वर्षीया प्रतिमा मनोरञ्जन र खेलकूद विधामा २४औँ स्थानमा पर्न सफल भएकी छिन । फोब्र्सले यो सूचीमा भविष्य परिवर्तन गर्न सक्ने क्षमता राख्ने व्यक्तिलाई समावेश गरेको छ ।

उक्त सूची तीन हजार ५०० जनाबाट छानिएको हो । फोब्र्सले यस्ता व्यक्ति छान्नका लागि समिति बनाउँछ । बिहीबार राति फाेर्ब्सको सूचीमा परेपछि नेपालमा रहेका उनका साथीले प्रतिमाले उक्त खबर सुनाएका थिए । त्यसयता उनको मन फुरुङ्ग भएको छ ।

‘चाँडोभन्दा चाँडो नेपाल फर्कन पाए हुन्थ्यो जस्तो भएको छ’, अमेरिकाको क्यालिफोर्नियाबाट फोनमा कुरा गर्दै उनले भनिन्, ‘कोरोना भाइरसका कारण साथीभाइ र आफन्तलाई खुशी साँट्नै पाइनँ ।’ कोरोना भाइरसका कारण उनी नेपाल आउन सकिरहेकी छैनन् ।

प्रतिमा बस्दै आएको क्षेत्रमा १२० कोरोनाबाट सङ्क्रमित छन् भने एक जनाको मृत्यु भएको छ । यसले उनको मन झन् त्रसित छ। ‘यस्तो अवस्थामा नेपाल फर्कन पाए हुन्थ्यो, बाबुआमा र आफन्तका साथमा बस्न पाए मन हलुका हुन्थ्यो ।’

घर बाहिर ननिस्के खासै समस्या नहुने प्रतिमा बताउँछिन् । अमेरिकामा रहेका नेपालीसित सामाजिक सञ्जालमा खबर आदान–प्रदानका माध्यमबाट मन बहलाउने गरेको उनले बताइन् । ‘नेपालमा अमेरिकाको भन्दा कोरोनाको त्रास कम रहेछ’, उनले साथीभाइबाट पाएको खबर सुनाइन् ।

प्रतिमाको घर सोलुखुम्बुको नाम्चे हो । उनको जन्म काठमाडौँमै भएको हो । ‘एकपटक मात्र जन्मथलो गएकी छु’, उनले सुनाइन्, ‘टाढा छ पटक–पटक जान सकिन्नँ ।’

पिङ्गलास्थानस्थित बाबा बाटिका विद्यालयबाट १० कक्षा उत्तीर्ण गरेकी उनी ४ कक्षा पढ्दादेखि नै गल्फ खेल्न थालेकी हुन् । उनको परिवार गौचरनस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको छेउमै रहेको रोयल नेपाल गल्फ क्लबको कोर्ष (मैदान) सँगैको छाप्रोमा बस्दै आएको छ । उनका बुबा पासाङ सो मैदानका सुरक्षागार्ड हुन् भने आमा त्यहीँ मैदानको रेखदेख गर्छिन् ।

मैदानभित्रै बसाइँ भएका कारण प्रतिमाको मन गल्फतर्फ आकर्षित भएको हो । ‘राम्रोसित होश नफिर्दा नै काठको स्टिक खेल्न थालेँ, नबुझेरै गल्फमा मन बस्यो’, उनले बिगत सुनाइन् । हाल पढाइ र गल्फ प्रशिक्षणका लागि अमेरिकामा रहेकी उनी नेपालकी पहिलो एम्च्योर महिला गल्फर हुन् ।

प्रतिमा नेपालका लागि पहिलो व्यावसायिक गल्फर बन्न चाहन्छिन् । होश नफिर्दै गल्फमा रमाएकी उनी सानो छँदा रमाइलोका लागि खेल्थिन् । यसरी बालसखासित रमाइलो गर्दागर्दै गल्फ खेलाडी बनेको पत्तै भएन । ‘रमाइलोका लागि खेल्थे, खेलाडी नै बन्छु भनेर कहिल्यै कल्पना गरिनँ’, अमेरिकाको क्यालिफोर्नियाबाट प्रतिमाले खुशी हुँदै भनिन्, ‘अब यसमै भविष्य बनाउँछु ।’

पछिल्लोपटक प्रतिमा गत असारमा नेपाल आएकी थिइन् । यस्तो महामारीमा उनको मन नेपालमै छ । ‘बाबुआमाको निकै चिन्ता लागिरहन्छ, कोरोनाको त्रास हटेपछि छिट्टै बाबुआमालाई खुशी साँट्न नेपाल फर्कन्छुँ’, उनले भनिन् ।

प्रतिमाका बुबा आमाले गल्फ राम्रोसँग बुझेका छन् । त्यसैले उनीहरुले प्रतिमालाई गल्फ खेल्न प्ररित गरे। ‘बा आमाको साथ पाएकी छु, दुवै जनाबाट गल्फ खेल्न प्रेरणा मिल्यो’, उनले भनिन्, ‘जुनसुकै क्षेत्रमा पनि अघि बढ्न घर परिवारको साथ चाहिन्छ ।’

काठमाडौँको खुशीबुँस्थित प्राइम कलेजबाट १२ कक्षा उत्तीर्ण गरेपछि उनी अध्ययन र प्रशिक्षण्का लागि अमेरिकातर्फ हान्निएकी हुन् ।

खेलका माध्यमले सर्वत्र चिनिन्छ भन्ने उनको बाबुआमाको धारणा थियो । यसलाई प्रतिमाले सत्य सावित गरिदिएकी छिन् । नौ वर्षयता उनले झण्डै ६० प्रतियोगिता खेलेकी छिन् । करिब ३५ प्रतियोगितामा प्रथम भएको उनी बताउँछिन् ।

उनी अमेरिकामा कलेजको टोलीबाट गल्फ खेल्छिन् । कलेजमा सधैँ अभ्यास हुन्छ । अहिले कोरोनाका त्रासले कलेज बन्द छ । प्रतियोगिता निरन्तर भइरहने भएकाले उनको खेलको स्तर बढ्दै गएको छ ।

अहिले कोरोनाका कारण अभ्यास गर्न नपाएकामा छटपटी भइरहेको उनले सुनाइन् । ‘चाँडै कोरोना सङ्क्रमण हट्ने छ र अभ्यास गर्ने वातावरण बन्छ होला’, प्रतिमा भन्छिन्, ‘नेपालमा पढ्दा विद्यालय र कलेजमा गल्फ खेल्ने साथी पाउन सकेकी थिइनँ, यहाँ त्यो सब छ ।’

प्राइम कलेजमा पढ्दा गल्फ खेल्न पर्याप्त समय नपाएको उनले सम्झिन । ‘सायद म एक्लो गल्फर भएर होला त्यसो भएको’, उनले चित्त बुझाइन् ।

रोयल नेपाल गल्फ क्लबको सहयोगमा उनले गल्फको यात्रा थालेकी हुन् । उनी घरेलु गल्फ कोर्षमा सर्वाधिक उपाधि जित्ने महिला गल्फर हुन् । त्यसैले उनलाई गल्फ क्लबले नेपालको नम्बर वान नेपाली महिला गल्फरको उपाधि दिएको हो ।

उनले यसको श्रेय रोयल नेपाल गल्फ सङ्घका अध्यक्ष टासी घले तथा बाबुआमालाई दिएकी छिन् । उनले अमेरिकामा छँदा विश्व चर्चित गल्फ स्टार टाइगर उड्सलाई समेत भेटिसकेकी छिन् । छोरीको प्रगतिबारे आमा कल्पनालाई त्यति धेरै थाहा छैन । तर जे–जति प्रतिमाको साथीबाट सुनेकी छिन् त्यसमा उनको एक मात्र सन्तानप्रति गर्व छ ।

प्रतिमाको प्रगति उसकै मुखबाट सुन्ने प्रतिक्षमा शेर्पा दम्पती छन् । उनीहरु अमेरिकाबाट छोरी चाँडै फर्कने प्रतिक्षा गर्दै विमानस्थलको बाटो हेरी बसेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री