नोवेल कोरोनाका कारण एकै दिन ९७ जनाको मृत्यु

काठमाडौं । चीनको उहानबाट फैलिएको नोवल कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ९ सय नाघेको छ । चीनको राष्ट्रिय स्वास्थ्य परिषद्ले आइतबार साँझसम्म थप ९७ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

यससँगै हालसम्म उक्त भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ९ सय १० पुगेको छ । मृत्यु हुनेमा ९ सय ८ जना चिनियाँ नागरिक हुन् भने एक जना अमेरिकी र एक जना जापानी नागरिकको मृत्यु भएको छ । फिलिपिन्स र हङकङमा एक-एक जनाबाहेक सबै चीनमै मृत्यु भएका हुन् । चीनमा मृत्यु हुने र सङ्क्रमित अधिकांश उहानका छन् ।

चीनको राष्ट्रिय स्वास्थ्य परिषद्ले उक्त भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या चीनमा मात्रै ४० हजार पुगेको जनाएको छ । उहानबाट सुरु भएको कोरोना भाइरसको सङ्क्रमण हाल विश्वका करिब ३० देशमा फैलिसकेको छ ।

श्वासप्रवासको माध्यमबाट मानिसबाट मानिसमा सर्ने उक्त भाइरस नियन्त्रणका लागि चीन सरकारले प्रयास गरिरहेको भए पनि हालसम्म सफल हुन सकेको छैन । उक्त भाइरसविरुद्धको खोप तयारीका लागि चिकित्सकहरू लागि परेका छन् ।

चीनले कोरोना भाइरसबाट प्रभावितको उपचारका लागि छुट्टै उहानमा अस्पताल बनाएर सञ्चालनमा ल्याइसकेको छ भने अर्को अस्पताल निर्माण गरिरहेको छ । उक्त भाइरस थप फैलन नदिन विश्वव्यापी सतर्कता अपनाइएको छ र नियन्त्रणकाे प्रयास भइरहेकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री