देशका विभिन्न ठाउँमा हिमपात र वर्षासँगै चिसो बढ्यो, आइतबारदेखि मौसममा सुधार आउने

काठमाडाैँ । देशका विभिन्न ठाउँमा हिमपात र वर्षा भएको छ । हिमपात र वर्षासँगै चिसो बढेको छ । मुलुकभरिको मौसममा आइतबारबाट सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबारबाट नै मौसमको अहिलेको अवस्थामा सुधार आए पनि आइतबारदेखि पूर्णरूपमा नै सुधार आउने जानकारी महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिए। मौसमी प्रभाव (सिजनल इफेक्ट) तथा पश्चिमी न्यून चापीय प्रणालीका कारण दिउँसो बादल लाग्दा केही दिनयता काठमाडौँ उपत्यकालगायत मुलुकभरि नै चिसो बढ्दै गएको छ ।

तराई तथा पूर्वी पहाडी क्षेत्रमा मौसममा क्रमिक रूपमा सुधार आए पनि मुलुकको पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना अझै केही दिन कायम नै रहने उनले स्पष्ट पारे। उनले पश्चिमी उच्च पहाडीसहित हिमाली भूभागमा भारी हिमपातका साथै मध्य तथा पूर्वी उच्च पहाडीसहित हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेकाले विशेषगरी पश्चिमी उच्च पहाडीसहित हिमाली भूभागका स्थानहरूमा सतर्कता अपनाउन अनुरोध गरे ।

मुलुकका अधिकांश भूभागमा शुक्रबार सामान्यदेखि पूर्णरूपमा बदली रही केही भूभागमा हल्का वर्षा हुनुका साथै उच्च पहाडी र हिमाली भूभागमा हिमपातसमेत भएको जानकारी उनले दिए। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभरि आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानहरूमा हल्का वर्षा हुने सम्भावना रहेको छ । उच्च पहाडीसहित हिमाली भूभागहरूमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ ।

त्यसैगरी आइतबार दिउँसो देशको पश्चिमी भूभागमा सामान्य बदली र मध्य तथा पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी भूभागका थोरै स्थानहरूका साथै मध्य तथा पूर्वका पहाडी भूभागमा हल्का वर्षा हुने सम्भावना रहेको जानकारी मौसमविद् श्रेष्ठले दिए। हिमाली भूभागहरूमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको उनले बताए।

महाशाखाका अनुसार शनिबार धनगढीमा सबभन्दा बढी ६४.९ मिलिमिटर पानी परेको मापन गरिएको छ । नेपालमा चैत, वैशाख र जेठ महिनालाई ‘प्रि–मनसुन’, असार, साउन, भदौ र असोज १५ गतेसम्मलाई ‘मनसुन’ र असोज १५ देखि फागुनसम्मलाई जाडो (विन्टर) मौसम भन्ने गरिन्छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप