संविधानले लोकतन्त्रका विश्वव्यापी मान्यतालाई आत्मसात् गरेको छ : देउवा

काठमाडौं । नेपाली का‌ंग्रेसका सभापति शेरबहादुर देउवाले संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन्।

सभापति देउवाले विज्ञप्तिमार्फत दिवसले नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर हुने प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्।

साथै, उनले लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामुलक समाजको निर्माण गर्न यो संविधान दिवसले सबैलाई प्रेरणा प्रदान गर्ने उल्लेख गरेका छन्। सभापति देउवाले संविधान दिवसका अवसरमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि भएका ऐतिहासिक जनआन्दोलनहरुमा जीवन उत्सर्ग गर्ने शहीदहरुप्रति उच्च सम्मान प्रकट गर्दै श्रद्धाञ्जलि अर्पण गरेका छन्।

‘नेपाली का‌ंग्रेसको नेतृत्वमा संविधानसभाबाट नेपालको संविधान जारी भएको घटना लामो र सङ्घर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको एउटा महत्त्वपूर्ण उपलब्धि हो,’ विज्ञप्तिमा उल्लेख छ, ‘यस संविधानले लोकतन्त्र र मानव अधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गरेको छ।’

सात दशकदेखि बहुलवादमा आधारित बहुदलीय संसदीय लोकतन्त्रको अभ्यास गर्ने, राजनीतिक र धार्मिक स्वतन्त्रता भएको, भय र गरीबीबाट मुक्त समाज निर्माण गर्ने नेपाली का‌ंग्रेसको विचार र सङ्कल्प नयाँ संविधानमा दृढताका साथ स्थापित भएको सभापति देउवाले उल्लेख गरेका छन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एमाले कांग्रेस मिल्नुपर्छ भन्ने छ, तर हामीलाई हतार छैन : रमेश लेखक

काठमाडाैं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीले नयाँ समीकरण बनाउन हतार नगरेको बताएका …

प्रतिकृया दिनुहॊस