काठमाडाैँ । नेपाल प्रहरीसँगको समन्वयमा पशुपति क्षेत्रमा तिज पर्वलाई ध्यान दिँदै आजैदेखि सादा पोशाकका प्रहरी खटाइसकिएको छ । मेला अवधिभर चार हजार सुरक्षाकर्मी पशुपति क्षेत्रमा खटिनेछन् । शान्ति सुरक्षालाई ध्यानमा राखी मन्दिर आउँदा गरगहना नलगाई आउन कोषले भक्तजनमा आह्वान गरेको छ ।
पशुपतिमा दर्शन गर्न आउने भक्तजनको सवारी पार्किङका लागि गुह्येश्वरी पारि, सिफलचौर, तिलगङ्गा र कोषको कार्यालय परिसरमा व्यवस्था गरिएको छ । सरकारी नम्बरप्लेटका सवारीलाई कोष कार्यालय र अन्यलाई अन्यत्रका स्थलमा पार्किङ गर्ने प्रबन्ध गरिएको छ ।
जुत्ता चप्पल राख्ने व्यवस्थाका लागि वरुणधारा, कैलाशडाँडामुनि, कोषको कार्यालय, भुवनेश्वरीलगायत स्थान छुट्याइएको छ । नाचगान एवं भक्ति सङ्गीत प्रस्तुतिका लागि हंसमण्डप, वनकाली, गौशाला, जयवागेश्वरी, मित्रपार्क तोकिएको छ ।
सुरक्षाकर्मी र स्वयंसेवकको सहयोगमा पशुपति क्षेत्रमा पर्ने चक्रपथ सडक बन्द नगर्ने गरी व्यवस्थापन गर्न लागिएको पनि कोषले जनाएको छ । कोषले भदौ १६ गते बिहान ६ बजेअघि नै पशुपतिका नित्य दर्शनार्थीलाई दर्शन गरिसक्न पनि आह्वान गरेको छ । ६ बजेपछि महिला भक्तजनको भीड बढी हुने भएकाले पुरुष दर्शनार्थीलाई यस्तो आह्वान गरिएको हो ।
तिजका अवसरमा भदौ १६ गते बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खोलिनेछ । तिजको मेला व्यवस्थापनका लागि पशुपतिमा सबै तयारी पूरा भइसकेको कोषले जनाएको छ ।





