रसुवा । रसुवामा पहिलो पटक प्याराग्लाइडिङ परीक्षण गरिएको छ । गोसाइँकुण्ड गाउँपालिका–५ दुर्सागाङबाट प्याराग्लाइडिङको सफल परीक्षण गरिएको हो ।
नेपाल भ्रमण वर्ष २०२० र गोसाइँकुण्ड गाउँपालिका भ्रमण वर्ष २०१९ लाई मध्येनजर गर्दै पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउनका लागि प्याराग्लाइडिङको परीक्षण गरिएको हो ।
प्याराग्लाइडिङको तीन दिनसम्म परीक्षण उडान हुने भुल्दीगाङ प्याराग्लाइडिङ उपभोक्ता समितिले जनाएको छ । बिहीबार तीन ओटा उडान गरिएको समितिका अध्यक्ष शेराप साङ्बो तामाङले बताए ।
एउटा सोलो (सिङ्गल) र दुई ओटा ट्यान्डम (डबल) फ्लाइट गरिएको हो । शुक्रबार पाँच ओटा उडान गरिने छ । यो क्षेत्र प्याराग्लाइडिङको लागि उपयुक्त रहेको पाइलट विजय चौलागाईँले बताए ।
गोसाइँकुण्ड गाउँपालिकाले भ्रमण वर्ष २०१९ घोषणा गरेको छ । जिल्लामा पर्यटक भित्र्याउनका लागि जल पर्यटन, धार्मिक पर्यटन तथा ऐतिहासिक पर्यटनको सम्भावना रहेको छ ।
गाउँपालिकाले स्याफ्रुबेसी गोसाइँकुण्ड पदमार्ग सञ्चालन तथा धुन्चे गोसाइँकुण्ड केबलबार निर्माण गर्ने प्रक्रिया समेत अघि बढाएको छ ।
प्रतिकृया दिनुहॊस