काठमाडौं । नेपाल राष्ट्र बैंकले आरएमडीसी लघुवित्त वित्तीय संस्थामा रहको सेयर लिलामी प्रक्रियाबाट बिक्री खुला गरेको छ । केन्द्रीय बैंकले आफ्नो स्वामित्वमा रहेको आरएमडीसीको ३ लाख २३ हजार ५२५ हजार कित्ता संस्थापक सेयर शुक्रबार (असार १३ गते) देखि लिलामीमा ल्याएको हो । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले राष्ट्र बैंक, वित्त व्यवस्थापन विभाग, बालुवाटार काठमाडौं पुग्नेगरी बोलपत्र पेश गर्नुपर्नेछ ।
यसमा साउन १६ गतेसम्म आवेदन दिन सकिनेछ । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २६१ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर बोलकबोल गर्नुपर्नेछ । यसका लागि आवेदन फारम राष्ट्र बैंकको वित्त व्यवस्थापन विभागमा पाइनेछ । अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले आवेदन फारममा आफूले लिन चाहेको सेयर कित्ताको दररेट स्पष्टसँग उल्लेख गर्नुपर्नेछ । सबैभन्दा बढी दररेटमा खरिद प्रस्ताव गर्ने आवदकलाई सेयर बिक्री गरिनेछ । लिलामीको बोलपत्र साउन १९ गत बिहान ११ बजे खोलिने केन्द्रीय बैंकले जानकारी गराएको छ । राष्ट्र बैंकले आफूले नियमन गर्ने संस्थाको सेयर बेच्नुपर्ने नियम अनुसार आरएमडीसीको सेयर लिलामी गर्न लागेको हो ।
तपाईंको प्रतिकृया




