काठमाडौँ । भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रनवे निर्माणको काम सकिएको छ । विमानस्थल निर्माण आयोजनाका प्रमुख प्रवेश अधिकारीका अनुसार विमानस्थलको तीन किलोमिटर रनवे निर्माण सकिएको हो । धावन मार्गको चार तहको कालोपत्रे सकिएसँगै अव लाइटिङ र मार्किङको काम सुरु हुनेछ ।
राष्ट्रिय गौरवका आयोजना मानिएको गौतमबुद्ध विमानस्थल सन् २०१९ भित्रै निर्माण सम्पन्न गरी उडान अवतरण सुरु गर्ने लक्ष्य राखिएको छ । निकै कठिनाइ भए पनि धावनमार्गको काम सफलतापूर्वक सम्पन्न भएको आयोजना प्रमुख अधिकारीले बताए । यसअघि ठेकेदार कम्पनीलाई रकम भुक्तानी नहुँदा केही दिन काम रोकिएको थियो । नागरिक उड्डयन प्राधिकरणले बजेट दिएपछि रनवे निर्माणले पुनः तीव्रता पाएको थियो ।
यो आयोजनाको लागत करिब छ अर्ब २२ करोड रुपियाँ रहेको छ । अन्तर्राष्ट्रिय नागरिक उडड्यन सङ्गठनको मापदण्ड अनुसार यो विमानस्थल ‘फोर इ’ स्तरको विमानस्थल हो । वार्षिक ६० लाख यात्रु व्यवस्थापन गर्न सकिने लक्ष्यसहित यो विमानस्थल निर्माण भइरहेको हो । यो विमानस्थल डिसेम्बर २०१७ मै सक्ने लक्ष्य भए पनि विभिन्न अवरोधनका कारण जुन २०१९ सम्म सक्नुपर्ने लक्ष्य तोकिएको छ ।




