महामन्त्री खड्काको सानो कार्यले देशभरिका कार्यकर्ताको छाती ठूलो बनाइदियो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले दलित समुदायमाथि भएको जातीय अन्याविरुद्ध कांग्रेसले नै क्रान्ति गर्ने बताएका छन् ।

गृहजिल्ला सुर्खेतमा वैशाख २ गते आयोजित नेपाली कांग्रेसको भेलालाई सम्बोधन गर्न जानु अगाडि स्थानीय दलित नेताको घरमा खाना खाएपछि प्रतिक्रिया दिँदै महामन्त्री खड्काले दलितमाथिको विभेद अन्त्य गर्ने कुरा आफूबाटै शुरु गर्नुपर्ने बताए । उनले कानून र संविधानलाई देखाएर केही नहुने भन्दै समाज परिवर्तन गर्न समाजका अगुवाहरूबाटै शुरु गर्नुपर्ने बताए । ‘संविधान र कानूनले जातीय छुवाछुतलाई बन्देज लगाएको छ’, उनले भने, ‘त्यसलाई कार्यान्वयनमा ल्याउने काम हामीआफूले गर्नुपर्छ ।’

देशका विभिन्न स्थानमा दलितमाथि जातीय विभेद र विवाह भोज बहिस्कार गरेका घटना सार्वजनिक भइरहेका बेला नेपाली कांग्रेसका महामन्त्री खड्काले सन्देश दिने गरेर आइतबार बिहान केही तस्वीरहरू सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गरेका छन् । दुई हप्ता अगाडिको यो कार्यक्रमको तस्वीर खड्काले सार्वजनिक गरेका थिएनन् । तर, दलित समुदायमाथि अमानवीय घटना भएका समाचार आउन थालेपछि कांग्रेसका महामन्त्री खड्काले तस्वीर सार्वजनिक गरेर विभेद नगर्न सन्देश दिएका छन् ।

रुपन्देही जिल्लामा एकजना दलितको विवाह भोज कथित उपल्लो जातका व्यक्तिहरूले दक्षिणा दिएर बहिस्कार गरेको घटना सार्वजनिक भएका बेला खड्काले जातीय छुवाछुतलाई जरैबाट उखेलेर फाल्न व्यवहारमा सुधारको खाँचो औँल्याएका हुन् । वैशाख २ गते नेपाली कांग्रेस सुर्खेत क्षेत्र नम्बर १ क्षेत्रीय कार्यसमितिद्वारा खड्का नेपाली कांग्रेसको महामन्त्री भएको सन्दर्भमा बधाई र शुभकामना दिनको लागि सानीभेरी नदीको किनार मेहेलकुनामा क्षेत्रीय भेलामा सहभागी हुन पुगेका थिए ।

भेलामा सहभागी हुनु पूर्व गुर्भाकोट नगरपालिका अन्तर्गत बोटेचौरको एक दलित बस्तिमा कांग्रेसका महामन्त्री खड्काले बिहानको खाना स्थानीय नेता तथा कार्यकर्ताहरूसँग दलित नेताकै घरमा खाएका थिए । कांग्रेसका नेता दलित नेताको घरमा बनाइएको खाना खाइसकेपछि महामन्त्री खड्काले आफ्नो फेसबुकमा लेखेका छन्, ‘दलित परिवारजनको हातबाट तयार पारिएको स्वादिष्ट भोजनको अनुभव लिएँ । कथित गैरदलितले पकाएको भन्दा कुनै पनि कुरामा फरक पाइन । अनि समाजमा दलितमाथि किन विभेद ?’

नेपाली कांग्रेसले जनजागर अभियानमा पनि दलित समाज र परिवारको घरमा बास बस्ने, खानपानको व्यवस्था मिलाउन केन्द्रबाटै निर्देशन दिएको छ । कांग्रेसको यो निर्णयले दलित र गैरदलितमाथिको विभेद अन्त्य गर्न सानो सहयोग मिल्न कांग्रेस नेताहरूको भनाइ छ । कांग्रेसका महामन्त्री डा.खड्का चार महिना अगाडि पनि पर्सा जिल्लामा कांग्रेसका स्थानीय दलित नेताको घरमा बास बसेका थिए । त्यस बेला उनले दलित परिवारको स्वागतबाट खुसी व्यक्त गरेका थिए । दलितमाथिको अन्याय र अत्याचार अन्त्य गर्ने मार्गमा कांग्रेसका नेताहरू विश्वप्रकाश शर्मा, दीपक गिरी, धनराज गुरुङ, चन्द्र भण्डारी, रामहरि खतिवडा, चन्तिन पौडेललगायतका नेताहरू अगाडि देखिएका छन् ।

रिपब्लिका दैनिकबाट

बारेमा news

यॊ पनि हेर्नुहॊस

पर्यटन बोर्ड सीईओ छनोट कार्य रोक्ने अन्तरिम आदेशलाई दियो उच्च अदालतले निरन्तरता

काठमाडौँ । उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोटसम्बन्धी कुनै पनि …

प्रतिकृया दिनुहॊस