यमन युद्ध अन्त्यको प्रस्ताव अमेरिकी सिनेटबाट पारित, ट्रम्पको विदेश नीतिमा झड्का

काठमाडौं । साउदी अरबको नेतृत्वमा यमनमा जारी लडाइँ अन्त्य गर्ने प्रस्ताव अमेरिकी सिनेटले पारित गरेको छ । यसबाट राष्ट्रपति डोनाल्ड ट्रम्पको विदेश नीतिमा झड्का लागेको विश्लेषण गरिएको छ ।

साउदी अरबले तीन वर्षयता अमेरिकी सैनिक र हतियारको सहयोगमा यमनमा आक्रमण गर्दै आएको छ । संयुक्त राष्ट्रसंघका अनुसार यस युद्धका कारण हजारौंको ज्यान गइसकेको छ भने ८० लाख मानिस भोकमरीको मारमा परेका छन् ।

डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति बनेदेखि साउदी राजकुमार सलमानले उनीसँग निकट सम्बन्ध बनाएर विश्वास जित्न सफल भएका छन् । त्यसको बदलामा साउदी पत्रकार जमाल खसोग्गीको हत्यामा मात्र होइन, यमन युद्धको मुद्दामा पनि अमेरिका चुप बस्दै आएको छ । तर अब अमेरिकी सिनेटले यमन युद्ध अन्त्य गर्ने प्रस्ताव पारित गरेर ट्रम्पलाई झड्का दिएको छ ।

सिनेटमा यो प्रस्तावको विषयमा मतदान भएको थियो । यमनको युद्ध अन्त्य गर्नुपर्छ भन्ने पक्षमा ५४ मत पर्‍यो । ४६ मत युद्ध अन्त्य गर्नु हुँदैन भन्ने पक्षमा परेको छ ।

रोचक त के छ भने राष्ट्रपति ट्रम्पको पार्टी रिपब्लिकनकै सात जना सांसदले समेत यमन युद्ध अन्त्य गर्नुपर्छ भन्ने पक्षमा रहेको डेमोक्रेटिक पार्टीका सांसदलाई साथ दिए ।

रिपब्लिकन पार्टीको बहुमत रहेको सिनेटले राष्ट्रपति ट्रम्पलाई ३० दिनभित्र यमन युद्धमा सहभागी अमेरिकी सैनिकलाई फिर्ता बोलाउन निर्देशन समेत दिएको छ ।

अब यो प्रस्ताव डेमोक्रेटिक पार्टीको नेतृत्व रहेको प्रतिनिधिसभामा जाने छ । त्यहाँबाट पनि यो प्रस्ताव पारित हुने सम्भावना रहेको बीबीसीको समाचारमा उल्लेख छ ।

यदि यो प्रस्ताव पारित भएमा अमेरिकामा नयाँ इतिहास बन्ने छ । किनभने १९७३ यता पहिलो पटक अमेरिकी राष्ट्रपतिको शक्तिमा सिधै कटौती हुनेछ ।

अमेरिकी सांसदहरुले दशकौं पुरानो ‘वार पावर रिजोलुसन’ लाई विदेशी भूमिमा जारी संघर्षलाई रोक्न किहल्यै पनि प्रयोग गरेनन् तर यसपटक यमन युद्धमा अमेरिकी समर्थन बन्द गर्ने निर्णय भएको छ र यसले हलचल पैदा गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री