विराटनगर । नेपाली भाषामा झर्रोवादी आन्दोलनका प्रणेता, भाषाशास्त्री, अनुसन्धाता, साहित्यकार बालकृष्ण पोखरेलको निधन भएको छ।विराटनगरस्थित आफ्नै निवासबाट नोबेल मेडिकल कलेज लैजाने क्रममा भाषाका धरोहर पोखरेलको शनिबार राति १.३० बजे निधन भएको हो।
साहित्यकार पोखरेल गत माघ ६ गतेदेखि मस्तिष्काघातबाट पीडित थिए। ‘राति सवा १ बजेतिर एक्कासि घ्यार–घ्यार भयो’, छोरा मुनालले भने, ‘सास फेर्न र बोल्न पनि अप्ठ्यारो भयो । हामीले तुरुन्तै गाडी बन्दोबस्त गरेर आधा घण्टाभित्रै अस्पताल पुर्यायौं। इसिजी गरेपछि अस्पतालले उनको निधन भइसकेको बतायो।’
न्यायाधीश शारदाप्रसाद पोखरेल र छायादेवीका साहिँला सन्तानका रूपमा बालकृष्णको जन्म सन् १९३३ मा मकवानपुरको चिसापानीगढीमा भएको थियो।
उनले आफ्नो शिक्षाको प्रारम्भिक अध्ययन विराटनगरको त्रिजुद्ध हाइस्कुलबाट सुरु गरेका थिए। सानै उमेरदेखि उनी साहित्यको अध्ययन र लेखनमा आकर्षित भए। सन् १९४६ देखि उनले लेखनको प्रारम्भ गरेर कविता, कथा र उपन्यासको सृजना गर्न थालेका थिए।
राणा शासनविरूद्ध सन् १९५० को जनक्रान्तिमा नेपाली काङ्ग्रेसको समर्थक भई सहभागी समेत भएका पोखरेल क्रान्ति सकिनेबित्तिकै माक्र्सवादी विचारधारातर्फ ढल्किएका थिए। यही क्रममा उनले सन् १९५७ मा माक्र्सवादी धारसमेत त्यागेर आफू स्वतन्त्र रहेको बताएका थिए।
बालकृष्णले कोलकाता विश्वविद्यालयबाट भाषाशास्त्रमा स्नातकोत्तर गरेका हुन्। त्रिभुवन विश्वविद्यालयमा उनी २०१९ देखि २०४६ सालसम्म प्राध्यापनरत थिए।
बनारसमा अध्ययन गर्दा सन् १९५६ मा डाक्टर तारानाथ शर्मा, चूडामणि रेग्मी, कोशराज रेग्मी लगायतका भाषाप्रेमीसित मिलेर बालकृष्णले झर्रोवादी आन्दोलनको नेतृत्व गरेका थिए।
‘नेपाली भाषा र साहित्य’ नामको शोधमूलक ग्रन्थका लागि उनले २०२१ सालमा मदन पुरस्कार प्राप्त गरेका थिए।
कथा, कविता, उपन्यास, निबन्ध, समालोचना, अनुसन्धान, शब्दकोश, काव्य लगायत नेपाली बाङ्मयका विविध विधामा उनका एक सय भन्दा बढी कृति प्रकाशित छन्। उनका गढतिरे साहिँलो, केकेमनुक्च्यो पोखरेल, रूपावासी, वसन्त, वत्सल, लक्ष्मीविलास पाध्या, हिमालपाने बराल लगायत दर्जनौँ साहित्यिक उपनाम छन्।
‘पहिलोपोस्टसित आफ्नो जीवनको अन्तिम अन्तर्वार्तामा उनले आफ्ना सयौँ कृतिमध्ये ‘खस जातिको इतिहास’, ‘पाँच सय वर्ष’, र ‘नेपाली–अङ्ग्रेजी–नेपाली शब्दकोश’–को निरन्तर स्मरण भइरहने बताएका थिए।
पोखरेलका एक छोरा–बुहारी र दुई छोरी–बुहारी छन्। पत्नी शान्तादेवीको २०६७ सालमा निधन भएको थियो।
उनको पार्थिव शरीरको दाहसंस्कार विराटनगरस्थित परोपकार घाटमा हुने छोरा मुनालले जानकारी दिए।
प्रतिकृया दिनुहॊस