हिन्दु संस्कृति अनुसार यो चाड भाद्र शुक्ल द्वीतिया देखि पञ्चमी सम्म ४ दिन मनाइने गरिन्छ । यो पर्व मुख्यरुपमा नेपाल र भारतमा मनाइन्छ । हिन्दू महिलाहरूद्वारा तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ ।
यो चाडमा माइतीले छोरीरचेली लाई घरमा गई लिएर आउने वा बोलाएर मीठा ,मीठा परिकार खुवाउने तथा मनका भावना एवम् सुखदुख साटासाट गरी एउटै ठाउँमा खाने,बस्ने चलन छ । यस दिन विशेष महत्वकासाथ दर खाने गरिन्छ ।
यहि दर खाने दिन बाट नै तिज पर्वको आरम्भ भएको मानिन्छ । दरमा ठाउँ अनुसार विभिन्न परिकार साथै खीर, ढकने, सेलरोटी, केरा लगायतका खाना, फलफुल खाने गरिन्छ । दर मध्यरात १२ बजेअघि खाने चलन बसिसकेको छ ।
भोलिपल्ट दिनभर पानी सम्म पनि नखाई बस्नुपर्ने भएकोले दर खाने दिन राती ढीलासम्म बसेर पेटभरी खाने प्रचलन छ ।
तिजमा खास गरी स्त्रीहरूले पतिको निमित्त निराहार रहेर भगवान शिव तथा आद्य शक्ति पार्वती सँग प्रार्थना गर्दछन् । यो दिन महिलाहरु विहान चाँडै उठी नुहाई धुवाई गरेर दिनभरी जल अन्न ग्रहण नगरी ब्रत बस्ने र्गछन ।
बेलुकी पख घर गाउँ र छिमेकका महिलाहरु भेला भई पूजाका सामान तथा मण्डप तयार गरी भगवान शिवको आराधना गर्ने प्रचलन रहेको छ ।
शिवको आराधना, पूजा, व्रत गर्नाले मृत्युमाथि पनि विजय प्राप्त गर्न सकिने र महिलाहरु सौभाग्यवती हुने विश्वासले पनि शिवालयमा दर्शनका लागि पुग्ने गरेका छन् । काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा महिला ब्रतालुहरुको ठूलो भन्दा ठूलो भीड हुने गर्दछ ।
ब्रतको समयमा महिलाहरूले तीजको ब्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मणब्राह्मणीहरूलाई दान दक्षिणा गर्ने चलन रहेको छ । तीजको व्रत अन्य व्रत भन्दा फरक ढंगले लिइन्छ ।
यस दिन पानीसम्म पनि नखाई ब्रत बस्नुपर्ने परम्परागत मान्यता रहेको भएपनि कतिपय महिलाहरु महादेवको पुजा आराधना पश्चात फलफुल ग्रहण गर्दछन् ।
यसै दिन पार्वतीले आफ्नो तपस्या पूरा गरी शिवजी पाएको विश्वास गरिने हुनाले यस दिनलाई हर्षोल्लासका साथ नाचगान गरी मनाइने गरिन्छ ।हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरे पछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन् ।
पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइ सक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिईकन निराहार व्रत बस्न बसिन् । यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई ’चिताएको कुरा पुगोस भनी आशिर्वाद दिए पछि शिव पार्वतीको विवाह हुन पुग्यो । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो ।
सोही तिथीदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ । प्रायः गरी यो दिन शौभाग्य सूचकका सामाग्री प्रयोग गरे पनि कुत्रिम सुन्दरताको सामाग्री भने प्रयोग गर्ने गरेको पाइन्न । यसै दिन बिहान जिउमा माटो लगाई नुहाउने, ३६५ चोटी दत्तिवनले दाँत माझ्ने, स्नानस्थलमा पनि दतिवन लगी त्यसैले पानी छ्याप्ने, धूप बाली बास्ना लिने समेत गरेको पाइन्छ ।
प्रतिकृया दिनुहॊस