कर्मचारी समायोजन अलपत्र, मन्त्री पण्डित यूएईमा मस्त

काठमाडाैं । निजामती कर्मचारी समायोजन प्रक्रिया अलपत्र छाडेर संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित यूएई घुमफिरमा व्यस्त छन्। फागुन ३ सम्म संघ, प्रदेश र स्थानीय तहमा सबै कर्मचारी समायोजन गरिसक्ने उद्घोष गरेका उनी मन्त्रालयको समायोजन महाशाखाका प्रमुख सहसचिव केदारप्रसाद पनेरुलाई समेत सँगै लिएर गएका खबर आजको कान्तिपुर दैनिकमा अब्दुल्लाह मियाँले लेखेका छन्।

मंगलबारसम्म ५६ जना सचिव, ६६२ सहसचिव र ८४८ जना उपसचिवको मात्र समायोजन भएको छ। संघ, प्रदेश र स्थानीय तहमा समायोजनका लागि निजामती र अन्य सेवाका गरी ७७ हजार ३४ जनाले फाराम भरेका छन्। मन्त्रालयले संघमा ४७ हजार ९ सय २०, ७ वटा प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५ सय ३ कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ । फागुन ३ भित्र समायोजन सक्ने सरकारको योजना थियो।

सबै समूहका करिब ६ हजार अधिकृतको समायोजन प्रक्रिया अघि बढे पनि मन्त्री र महाशाखा प्रमुख नहुँदा उनीहरूको पदस्थापन र सरुवाको कामसमेत अवरुद्ध भएको मन्त्रालयका प्रवक्ता सहसचिव सुरेश अधिकारीले बताए। ‘समायोजन जुन हिसाबले अघि बढ्नुपर्ने हो, त्यो हुन सकेको छैन,’ उनले भने, ‘फागुन २ मा अहिलेसम्मको प्रगतिबारे मन्त्रालयले पत्रकार सम्मेलन गरी जानकारी गराउनेछ।’

मन्त्री पण्डित पत्नी विमला महत, सहसचिव पनेरु, स्वकीय सचिव मनोज राई, आफ्नो निर्वाचन क्षेत्रका नेता अजम्बर राई र छोरी अर्चना पण्डितलाई लिएर झन्डै एक सातादेखि दुबई र आबुधाबीमा विभिन्न कार्यक्रममा व्यस्त छन् । मन्त्री पण्डित बुधबार राति फर्कनेछन्। यूएई सरकारको निमन्त्रणामा ‘विश्व सरकार शिखर सम्मेलन’ मा भाग लिन भन्दै मन्त्री पण्डित दुबई गए पनि पनेरुलगायत अरू कसैको त्यहाँ कुनै जिम्मेवारी छैन । उनीहरू घुम्ने उद्देश्यले मात्र गएका हुन् ।

प्रवक्ता अधिकारीले महाशाखा प्रमुख पनेरु मन्त्रीलाई सहयोग गर्न सँगै गएको दाबी गरे । मन्त्रिपरिषदको निर्णयअनुसार मन्त्री पण्डित, सहसचिव पनेरु र स्वकीय सचिव राईको खर्च सरकारले बेहोर्नेछ। केही दिनअघि मन्त्री पण्डितले मन्त्रालयका उच्च अधिकारीलाई बोलाएर जसरी पनि फागुन ३ भित्र कर्मचारी समायोजन सक्न निर्देशन दिएका थिए।

सोही दिन सरकार गठनको एक वर्ष पूरा हुने र उपलब्धिस्वरूप समायोजन पूरा गर्ने भन्दै त्यसैमा केन्द्रित कर्मचारीलाई मन्त्रीको निर्देशन थियो । मन्त्रालयका एक अधिकारीले मन्त्री र महाशाखाकै प्रमुख नहुँदा समायोजन प्रक्रिया अवरुद्ध भएको बताए।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री