काठमाडौं । राजधानीको भृकुटीमण्डमा जारी सूचना प्रविधि मेला समापन हुन एक दिन बाँकी रहँदा अवलोकनकर्ताको घुइँचो लागेको छ । पाँचौं दिनसम्ममा प्रविधि मेलाको करिब ३ लाखले अवलोकन गरेका छन् ।
सूचना प्रविधि मेलाको शनिबार मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेललगायतले अवलोकन भ्रमण गरे । उनीहरुले सूचना प्रविधिको विकासमा क्यान महासंघको भूमिकाको सराहना गरेका छन् ।
‘सूचना प्रविधिको वास्तविकता बुझ्न मेला आउनुपर्ने रहेछ,’ क्यान इन्फोटेकको पहिलो पटक अवलोकन गरेका नेकपा महासचिव पौडेलले भने, ‘सूचना प्रविधिबारे बुझ्न र नयाँ प्रविधिबारे जानकारी लिन यति ठूलो उपस्थिति हुने रहेछ, मेला स्थलमा आएपछि ठाउँ सानो भएको महसुस भयो ।’
मेला अवलोकनपछि क्यान महासंघका प्रतिनिधिसँग उनले यति ठूलो मेलालाई थप व्यवस्थित गर्न सरकारलाई सुझाव दिने प्रतिबद्धता जनाए ।
क्यान महासंघका उपाध्यक्ष रोमकान्त पाण्डेले नेपाली प्रविधिको उत्पादनमा भएको वृद्धिले क्यान इन्फोटेकको दायरा थप फराकिलो बनाएको महसुस भएको बताए । ‘यसपटकको मेलामा नेपाली प्रविधि र नेपाली प्राविधिकको उत्साहजनक उपस्थितिले हामीलाई थप हौसला मिलेको छ,’ उनले भने, ‘केही वर्षको अवधिमै प्रविधि र दक्ष प्राविधिक जनशक्तिको उत्पादनमा नेपाल निकै अगाडि पुगेको अनुभूत भएको छ ।’
कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले माघ १५ गतेदेखि आयोजना गरेको २५औं संस्करणको क्यान इन्फोटेक २०१९ मा दैनिक जीवनमा प्रविधिको प्रयोगलाई विशेष महत्व दिइएकाले पनि अवलोकनकर्ताको उल्लेख्य घुइँचो लागेको हो । मेलामा औषधि ओसारपसारका लागि ड्रोनको प्रयोग, दूरशिक्षा सिकाइ, स्मार्ट होम र कृषिक्षेत्रमा प्रविधिको प्रयोग अवलोकन गर्न सकिन्छ । मेलास्थलमै सहरको कुनै एक स्थानबाट इन्टरनेटको माध्यमबाट दूरदराजदेखि गाउँगाउँका विद्यालयमा एकसाथ अध्ययन–अध्यापन गराइएको छ ।
कुल १७५ स्टल रहेको मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, इन्टरनेट सेवाप्रदायक, टेलिकम्युनिकेसन्स, आईसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्सलगायतका स्टल छन् । मेला अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क १०० रुपैयाँ र विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ ।
प्रविधि मेलामा सामूहिक रुपमा आउन चाहने सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीले विद्यालयबाट पत्र लिएर आएमा निःशुल्क प्रवेश पाउने व्यवस्था मिलाइएको छ । त्यस्तै, जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई पनि निःशुल्क प्रवेशको सुविधा दिइएको छ ।




