चेल्सीको शानदार जित, हेगुइन र हजार्डको गोलमा आर्सनललाई पछि पार्‍यो

काठमाडाैँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा चेल्सीले हडर्ल्सफिल्ड टाउनमाथि शानदार जित दर्ता गरेको छ । लिग अन्तर्गत घरेलु मैदानमा भएको खेलमा चेल्सीले हडर्ल्सफिल्ड टाउनमाथि ५–० को जित निकालेको हो ।

चेल्सीको जितमा जनवरीमा युभेन्टसबाट लोनमा आएका गोन्जालो हेगुइन र इडन हजार्डले दुई–दुई तथा डेविड लुइजले एक गोल गरे ।

हेगुइनले १६ औँ तथा हजार्डले पहिलो हाफको इन्जुरी समयमा पाएको पेनाल्टीमा गोल गरेपछि चेल्सीले पहिलो हाफमा २–० को अग्रता लियो ।

दोस्रो हाफमा उसले थप तीन गोल गरेको हो । हजार्डले ६६ औँ तथा हेगुइनले ६९ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । यस्तै ८६ औँ मिनेटमा लुइजले गोल गरेपछि चेल्सी ५–० ले विजयी भयो ।

जितपछि शीर्ष चारमा उक्लिएको चेल्सीको २५ खेलबाट ५० अंक भएको छ । चेल्सीले एक खेल कम खेलेको आर्सनललाई तीन अंकलेपछि पार्दै चौथो स्थानमा उक्लिएको हो ।

शनिबार राति नै भएका अरु खेलमा क्रिष्टल प्यालेसले फुलह्यामलाई २–०, वुल्भ्सले एभर्टनलाई ३–१ तथा कार्डिफले बोर्नमाउलाई २–० ले हरायो । यस्तै बर्नलीले साउथह्याम्पनसँग १–१ तथा ब्राइटन र वाट्फोर्डले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री