नयाँ सुरक्षा रणनीति : प्रजिअको लिखित आदेश आए गोली ठोक्न सकिने

काठमाडाैं । कतै हुलदङ्गा वा शान्ति सुरक्षा भंग हुने गरी कसैले आतंक मच्चाउन खोजे अनुमति लिई घुँडामुनि मात्र गोली चलाउन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिने गरी गृह मन्त्रालयले नयाँ विधेयक तयार पारेको छ ।

संविधानले परिकल्पना गरेअनुसार शान्ति सुरक्षा कायम गर्न यो विधेयक ल्याइएको मन्त्रालयले जनाएको छ । गृहमन्त्री रामबहादुर थापाले यो विधेयक ल्याउँदा सरकारलाई थप आर्थिक व्ययभार नपर्ने बताएका खबर आजको समाचारपत्र दैनिकले छापेको छ । संघीय संसद् सचिवालयमा दर्ता भएर संसदीय प्रक्रियामा अघि बढेको यो विधेयकले संविधानले परिकल्पना गरेअनुसारको भावनाको सम्बोधन हुने जनाइएको छ ।

विधेयकमा राष्ट्रिय सुरक्षा समिति, प्रदेश सुरक्षा समिति र जिल्ला सुरक्षा समिति गरी ३ तहका सुरक्षा समिति रहने उल्लेख छ । गृहमन्त्री अध्यक्ष र मन्त्रालयका सहसचिव सदस्य-सचिव रहेको राष्ट्रिय सुरक्षा समितिमा गृह र रक्षा मन्त्रालयका सचिव, नेपाली सेनाका बलाधिकृत रथी, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान अधिकृत सदस्य रहनेछन् ।

शान्ति कायम गर्न नसकिने देखिएमा र गोली चलाउनुपर्ने आवश्यकता परेमा प्रमुख जिल्ला अधिकारीले गोली चलाउने चेतावनी दिन लगाउने र चेतावनी दिँदा पनि भीड नहटेमा गोली चलाउनुपर्ने अवस्थामा घुँडामुनि गोली चलाउन लिखित आदेश दिनुपर्ने उल्लेख छ ।

एकै प्रदेशको २ वा २ भन्दा बढी जिल्लामा गम्भीर अशान्ति भएमा वा हुने सम्भावना भएमा सम्बन्धित प्रमुख जिल्ला अधिकारीले आवश्यक व्यवस्थाका लागि यथाशीघ्र मन्त्रालय र प्रदेशको आन्तरिक मामिला हेर्ने मन्त्रालयलाई जानकारी गराउनुपर्नेछ । संघमा गृह मन्त्रालयले गर्ने काम गर्ने गरी ७ वटै प्रदेशमा यससम्बन्धी आन्तरिक मामिला तथा कानुन मन्त्रालय रहेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दाउन्नेमा फेरि पहिरो खस्दा यातायात ठप्प, नयाँ ट्र्याक खन्न थालियो

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा पहिरो खस्दा फेरि यातायात ठप्प भएको छ । …

प्रतिकृया दिनुहॊस