धनगढी । सरकार विरुद्ध नेपाल तरुण दलले सोमबार धनगढीमा बृहत् बिरोध प्रदर्शन गरेको छ । सरकारले बढ्दो महंगी, भ्रस्टाचार नियन्त्रण गर्न नसकेको र शान्ती सुरक्षा कायम गर्न नसकेको बिरोधमा तरुण दलले बिरोध प्रदर्शन गरेको हो ।
धनगढीको ट्राफिक चौराहबाट सुरु भएको बिरोध र्यालीमा सहभागीहरुले डाक्टर गोबिन्द केसीको माग पूरा गर, महंगी नियन्त्रण गर, शान्ति सुरक्षा कायम गर, निर्मलालाई न्याय दे लगायतका नारा लगाएका थिए । जुलुस पार्क मोडमा पुगेर कोणसभामा परिणत भएको थियो ।
प्रधानमन्त्रीलाई राजा र राष्ट्रपतिलाई ऐश्वर्य नबन्न अध्यक्ष बस्नेतको आग्रह
तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले ७ वटै प्रदेशमा सरकारविरुद्ध चलाइएको अभियानबाट जोश, जाँगर र उर्जा थपिएको बताएका छन् । धनगढीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले भने, ‘‘अभियानबाट जोश–जाँगर र उर्जा थपिएको छ । यो उर्जाले सरकार ढाल्न सक्छौ भन्ने लागेको छ ।’’
अध्यक्ष बस्नतेले प्रधानमन्त्री केपी ओलीलाई राजा वीरेन्द्र र राष्ट्रपति विद्यादेवी भण्डारीलाई रानी ऐश्वर्य नबन्न अनुरोध गरे । उनले कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तका हत्यारालाई सरकारले नै संरक्षण गरिरहेको आरोप लगाउँदै गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीकको पोलीग्राफ परीक्षण गर्न माग गरे ।
उपाध्यक्ष उत्तम चापागाईंले दुई तिहाइको शक्तिको बलमा सरकारले कांग्रेसको नेतृत्वमा हासिल भएका राजनीतिक उपलब्धि मास्न खोजेको आरोप लगाए । कम्युनिष्ट नेतृत्वको सरकार देश र जनताले उपभोग गर्न पाउने नैसर्गिक अधिकार खोस्न लागेको टिप्पणी गर्दै त्यसका विरुद्ध नेपाली जनता एक हुने समय आएको बताए ।
कोषाध्यक्ष विद्धान गुरुङले सरकारले पटक–पटक मूल्यवृद्धि गर्दा पनि नेकपाको भ्रातृ संगठन केही नबोलेकोतर्फ ईंगित गर्दै अनेरास्ववियुकी अध्यक्षसमेत रहेकी नेकपा नेतृ नवीना लामालाई चुप लाग्नुको कारण सोधे ।
तरुण दलले माघ ९ गते प्रदेश नम्बर २ को जनकपुरमा, माघ १० गते प्रदेश नम्बर ३ को हेटौंडामा, माघ ११ गण्डकी प्रदेशको पोखरामा, माघ १२ गते प्रदेश नम्बर ५ को भैरहवा, माघ १३ कर्णाली प्रदेशको सुर्खेतमा सरकारविरुद्ध कार्यकर्ता सडकमा उतारेको थियो ।
तरुण दलले घोषणा गरेको सरकारविरुद्धको आन्दोलनलाई सघाउन कांग्रेसले ७७ वटै जिल्ला कार्यसमितिलाई परिपत्र गरेको थियो ।
सरकारविरुद्ध सशक्त बन्दै तरुण दल : धनगढीमा ग-यो बृहत् प्रदर्शन (फोटोफिचर)
तपाईंको प्रतिकृया




