काठमाडौं । एनआईसी एशिया बैंक नेपाल पे कार्ड प्रणालीमा औपचारिक रूपमा आबद्ध भएको छ। त्यसका लागि बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच एनपिएस–नेशनल कार्ड स्विच (NPS–NCS) तथा नेपाल पे कार्डको प्रिन्सिपल मेम्बरसिप सम्झौता सम्पन्न गरिएको हो।
सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।
एनसीएचएलले हालै एनपिएस–एनसिएसको पूर्वाधार निर्माण पूरा भएको घोषणा गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई स्वदेशी कार्ड स्किममा आवद्ध हुन आग्रह गरेपछि एनआईसी एशिया बैंक पनि प्रिन्सिपल मेम्बरका रूपमा जोडिएको हो। यससँगै बैंकले अब नेपालमै जारी हुने नेपाल पे कार्डलाई इस्यू र अक्वायर दुवै गर्न सक्नेछ।
नेपाल पे कार्ड सञ्चालनमा आएपछि विदेशी भुक्तानी नेटवर्कमा निर्भरता घट्ने, कार्ड कारोबारको खर्च न्यून हुने र सबै कारोबारको डाटा देशभित्रै सुरक्षित रहने एनसीएचएलले जनाएको छ। एनपिएस–एनसिएसलाई विभिन्न कार्ड स्विचबीच अन्तरआबद्धता कायम गर्दै एकीकृत राष्ट्रिय कार्ड स्विचको रूपमा स्थापित गरिँदैछ, जसले डोमेस्टिक कार्ड ट्रान्ज्याक्सनको राउटिङ र सेटलमेन्ट एकै स्थानबाट गर्नेछ।
एनआईसी एशिया बैंकले डिजिटल बैंकिङलाई प्राथमिकतामा राख्दै आएको छ। बैंकका अनुसार नेपाल पे कार्डका प्रयोगकर्ताले एटीएम, पिओएसदेखि अनलाइन भुक्तानीसम्मका कारोबार सहज र सुरक्षात्मक रूपमा गर्न सक्नेछन्।




