
एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बिबिसीमाथि मुद्दा हाल्ने चेतावनी दिएका छन् । सोमबार ट्रम्पले अमेरिकी समाचार एजेन्सी ‘फक्स न्युज’ सँगको अन्तर्वार्ताका क्रममा यसो भनेका हुन् । ट्रम्पले ‘प्यानोरमा’ डकुमेन्ट्रीमा उनको भाषणको अंशको सम्पादन गरिएको तरिकामा बिबिसीमाथि मुद्दा हाल्नुपर्ने ‘बाध्यता’ रहेको बताएका छन् ।
‘प्यानोरमा’ डकुमेन्ट्री बिबिसीको एक खोज पत्रकारिता अन्तर्गतको कार्यक्रम हो । सन् २०२४ मा “ट्रम्प: दोस्रो मौका” शीर्षकमा प्यानोरमा डकुमेन्ट्री प्रसारण भएको थियो । जसमा सन् २०२१ जनवरी ६ मा दिएको ट्रम्पको भाषणका केही क्लिपहरुलाई सम्पादन गरेर उनले क्यापिटोल हिंसालाई प्रोत्साहन गरेको जस्तो देखाइएको थियो । डकुमेन्ट्री नोभेम्बर २०२४ मा अमेरिकी राष्ट्रपति चुनावअघि प्रसारण गरिएको थियो ।
फक्स न्युज सँगको वार्ताका क्रममा उनले उक्त भाषणको “हत्या” गरिएको र त्यसलाई प्रस्तुत गर्ने तरिकाले दर्शकहरुलाई धोका दिइएको बताएका छन् । डकुमेन्ट्री सार्वजनिक भएपछि अक्टोबर २०२४ मा ट्रम्पका वकिलहरुले बिबिसीलाई पत्र पठाएका थिए । उनीहरुको माग डकुमेन्ट्री सच्याउने, माफी माग्ने र क्षतिपूर्ति दिने माग थियो । यदि यसो नगरेमा ट्रम्पले १ अर्ब डलर क्षतिपूर्तिको मुद्दा हाल्ने बताएपछि यस विषयमा उनी सार्वजनिक रुपमा बोलेको पहिलो पटक हो ।
फक्स न्युज सँगको अन्तर्वार्ताका क्रममा ट्रम्पले आफ्नो जनवरी ६ को भाषण शान्तिपूर्ण रहेको र त्यसलाई कट्टर र चरम देखाइएको बताए । ट्रम्पलाई “के उनी मुद्दा अघि बढाउने छन् ?” भनि प्रश्न गर्दा “मलाई लाग्छ मैले गर्नैपर्छ, किनभने उनीहरुले जनतालाई धोका दिएका छन् र त्यसलाई स्वीकार पनि गरेका छन्” भन्ने जवाफ दिए ।
वास्तविक भाषणमा ट्रम्पले “हामी क्यापिटोलतिर लाग्नेछौँ, र हाम्रा बहादुर सेनेटर र संसदका सदस्यलाई प्रोत्साहित गर्नेछौँ” भनेका थिए तर प्यानोरमा एडिटमा क्लिपहरु जुन ५० मिनेटभन्दा बढी अलग थिए, जोडिएका थिए । डकुमेन्ट्रीमा उनले “हामी क्यापिटोलतिर लाग्नेछौँ… म तपाईंहरु सँग त्यहाँ हुनेछु । र हामी लड्नेछौँ । हामी नराम्रो सँग लड्नेछौँ” भनेको देखाइएको थियो ।
यस घटनाको प्रतिक्रिया दिँदै बिबिसीका अध्यक्ष समीर शाहले गल्ती स्वीकार गर्दै माफी मागेका थिए । त्यस्तै विवाद पछि नोभेम्बर २०२५ मा बिबिसीका निर्देशक-जनरल ‘टिम डेभी’ र समाचार प्रमुख डेबोरा टर्नेसले राजीनामा दिएका थिए ।
राष्ट्रपति बनिसकेपछि ट्रम्पले अन्य मिडिया आउटलेटहरु विरुद्ध पनि कानूनी धम्की दिएका छन् । उनले सीबीएस न्युज र एबिसी न्युज सँग सम्झौता गरेर ठूलो रकम प्राप्त गरेका छन् । एबिसी न्युजले ट्रम्पलाई अमेरिकी १५ मिलियन डलर तिर्ने, साथै १ मिलियन डलर कानूनी खर्चका लागि दिने सहमति गरेको थियो । त्यस्तै सीबीएस न्युजले ट्रम्पलाई अमेरिकी १६ मिलियन डलर तिर्ने सहमति गरेको थियो । उनले न्युयोर्क टाइम्स विरुद्ध पनि कानूनी कदम चाल्ने प्रयास गरेका छन् ।




