काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टी महाधिवेशनको विषयमा पक्ष–विपक्षमा बाँडिएर द्वन्द्व बढाउनुभन्दा विशेष महाधिवेशनको माग राख्ने साथीहरूको भावनालाई पनि समेटेर केन्द्रीय समितिबाट सर्वसम्मत समाधान खोज्नुपर्ने बताएका छन् ।
जारी केन्द्रीय समितिको बैठकमा बुधबार आफ्नो धारणा राख्दै डा. कोइरालाले यतिबेला विशेष महाधिवेशनमा पार्टी जानु नहुने भन्दै विशेष महाधिवेशन माग गरेका साथीहरूलाई पनि विश्वासमा लिएर अगाडि बढ्नु व्यावहारिक हुने बताए ।
कोइरालाले सामाजिक न्याय र समतामूलक समाज निर्माणको बीपीको विचारलाई स्थापित गर्न र नेपाललाई त्यो मार्गबाट समुन्नतिमा पुर्याउनका लागि द्वन्द्व व्यवस्थापनलाई केन्द्रमा राख्नुपर्नेमा आफू प्रस्ट भएको बताए । उनले राष्ट्र र पार्टीको वर्तमान विषम परिस्थिति रहेको अवस्थामा हठात् प्रतिक्रिया, आरोप, प्रत्यारोप, आवेग, हठभन्दा विपरीत विचारप्रति सहिष्णुता, सहअस्तित्वका साथ द्वन्द्व व्यवस्थापन गर्दै बीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिलाई मनन गर्दै एकताबद्ध पार्टी निर्माण आजको आवश्यकता रहेको बताए । उनले आफू सदैव यही अभियानमा रहेको पनि उल्लेख गरे ।
डा. कोइरालाले आजको मुख्य विषय भनेकै फागुन २१ को निर्वाचन भएको बताउँदै उक्त निर्वाचनमा जान सबै राजनीतिक दल, नागरिक समाजलगायत सबैलाई एकताबद्ध बनाउनुपर्ने दायित्व नेपाली कांग्रेसको भएको स्पष्ट पारे । उनले भने– ‘यतिबेला नेपाली कांग्रेस आन्तरिक रूपान्तरणको चरणमा छ भने सँगै देशलाई सही दिशा दिनुपर्ने दायित्व पनि कांग्रेसकै काँधमा छ । मुलुकलाई लोकतान्त्रिक प्रक्रियामा अगाडि बढाउन आम निर्वाचन नै एकमात्र विकल्प हो । त्यही कारण कांग्रेस फागुन २१ को निर्वाचनमा सहभागी हुनुपर्छ ।’
कोइरालाले निर्वाचनका लागि वातावरण बनाउने जिम्मेवारी सरकारको भएको बताउँदै भने– ‘यतिबेला देशमा भयरहित वातावरण छैन । सरकारलाई वातावरण बनाउन दबाब दिऊँ, प्रहरीबाट लुटिएका हतियार र जेलबाट भागेका कैदी फर्काउने दायित्व पनि सरकारको नै हो । यो जिम्मेवारी पूरा गर्न सरकारलाई दबाब बढाउँदै केन्द्रीय समितिबाट सर्वसम्मत निर्णय गरेर फागुन २१ को निर्वाचनमा जाऔं ।’
कोइरालाले जेनजी आन्दोलनपछि सरकार मात्र बदलिएको तर संविधान यथावत् रहेको भन्दै फागुन २१ को निर्वाचनमार्फत बन्ने प्रतिनिधि सभाले आवश्यक संविधान संशोधन गरेर जेनजीका जायज माग पूरा गर्न सक्ने पनि बताए । उनले कांग्रेस पार्टीले निर्णय गरिरहँदा वर्तमान संविधान, संघीयता, समावेशीता, जनसंख्याको आधारमा प्रतिनिधित्व, प्रेस स्वतन्त्रता आदिको हेक्का राख्नुपर्ने बताए । उनले भने–‘मूलतः हामीले सोच्नुपर्छ अबको दिनमा सरकारको डेलिभरी क्षमता कसरी बढाउने ? कसरी रोजगारीका अवसर बढाउने जस्ता विषयको अगुवाइ कांग्रेसले गर्नुपर्छ ।’
उनले दुई छिमेकी मित्रराष्ट्रसँगको सम्बन्ध सुदृढीकरणमा हामीले विशेष ध्यान दिनुपर्ने भन्दै नेपालको हितमा उपयोग हुनेगरी मित्रराष्ट्रहरूको सरोकारलाई समेत ध्यानमा राखेर अगाडि बढ्नुपर्ने स्पष्ट पारे ।
भदौ २३ र २४ गतेपछि आफ्नो मनमा केही प्रश्न उठिरहेको भन्दै ०६२-६३ को जनआन्दोलनमा लोकतान्त्रिक अधिकारका लागि अब उप्रान्त कसैले पनि रगत बगाउनु पर्ने छैन भने तर अहिले फेरि रक्तपात र भयावहको अवस्था किन आयो ? यो परिस्थिति आउनुमा क–कसको के–के कमजोरी रह्यो ? ऐतिहासिक धरोहर सिंहदरबार, सर्वोच्च अदालत, शीतल निवासजस्ता सम्पदालाई किन निशाना बनाइयो ? जहानियाँ राणाशासन विरुद्ध फरक ढंगले विद्रोहको बिगुल फुक्ने पिताजी कृष्णप्रसाद कोइरालाको विराटनगरस्थित निवास किन ध्वस्त बनाइयो भन्दै त्यसको जवाफ कांग्रेसले खोज्नुपर्ने बताए ।
उनले भने– ‘लौहपुरुष गणेशमान सिंहको निवास चाक्सिबारी र सन्त नेता किसुनजीको आश्रममा भएको आक्रमणलाई लोकतन्त्रमाथि प्रहारका रूपमा मैले बुझेको छु । मिडिया हाउस, व्यापारिक प्रतिष्ठान, निजी घर आदि जल्नु कुनै कोणबाट पनि सही थिएन । निजी क्षेत्रलाई निरुत्साहित गरेर आजको विश्वमा कुनै देश समृद्ध बन्न सम्भव छैन । सभापति शेरबहादुर देउवा र उहाँकी धर्मपत्नीमाथि भएको भौतिक आक्रमण अत्यन्तै निन्दनीय र दुःखद थियो । यो अमानवीय घटनाको म निन्दा गर्दछु ।’ उनले भदौ २३ र २४ गते घटनामा निष्पक्ष छानबिन गरेर सम्पूर्ण वास्तविकता सार्वजनिक गरिनुपर्ने माग गरेका छन् ।





