शान्ति सुरक्षा कायम गरी निर्वाचन गराउनु सरकारको दायित्व : मुख्यमन्त्री शाह

अछाम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आसन्न निर्वाचनका लागि आवश्यक वातावरण निर्माणमा सबै सरोकारवाला पक्ष सक्रिय हुनुपर्नेमा जोड दिए ।

अछाममा बुधबार आयोजित जिल्लाका पालिका प्रमुखहरू, संघ, प्रदेश र स्थानीय तहका कार्यालय प्रमुखहरू तथा सुरक्षा निकायका प्रतिनिधिहरूसँगको छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले मुलुक निर्वाचनको दिशामा अघि बढिसकेको बताए । यसका लागि राजनीतिक र प्रशासनिक सबै निकायले आ-आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने उनको भनाइ थियो ।

प्रधानमन्त्रीले केही दिनअघि सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग गरेको भेटघाटको प्रसंग उल्लेख गर्दै मुख्यमन्त्री शाहले भने, ‘प्रधानमन्त्रीज्यू संविधान, व्यवस्था र संघीयताप्रति पूर्ण प्रतिबद्ध देखिएका छन् ।’ उनले वर्तमान सरकारले फागुन २१ गते निर्वाचनको मिति घोषणा गरी सोहीअनुसार तयारी अघि बढाइरहेको जानकारी दिए ।

मुख्यमन्त्री शाहले भने, ‘जनआन्दोलनपछि बनेको सरकारको पहिलो दायित्व निष्पक्ष र स्वच्छ निर्वाचन सम्पन्न गराउनु हो । त्यसका लागि सरकारले शान्ति-सुव्यवस्था कायम गर्नुपर्छ र जनतालाई सुरक्षाको प्रत्याभूति दिनुपर्छ ।’

उनले जनप्रतिनिधि र प्रशासनिक नेतृत्वबीच आरोप-प्रत्यारोप भन्दा विश्वास र सहकार्यको वातावरण निर्माण गर्नुपर्नेमा पनि जोड दिए । भ्रमणका क्रममा मुख्यमन्त्री शाहले अन्तरतह कार्यालयबीचको सम्बन्ध र सहकार्यको अवस्था, ऐन–कानुनमा देखिएका समस्या, योजना कार्यान्वयनको स्थिति र शान्ति-सुरक्षाको अवस्थाबारे समेत जानकारी लिएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री