एजेन्सी । सोमबार साँझ करिब ६:५२ बजे भारतको राजधानी नयाँ दिल्लीको लालकिल्ला क्षेत्रमा कार विस्फोटन भएको छ । भारतको ऐतिहासिक र पर्यटकीय स्थल लालकिल्ला नजिकैको स्थानमा सेतो हुन्डाई कार विस्फोट भएको हो । विस्फोटमा ८ जनाको मृत्यु र २० भन्दा बढी घाइते भएका छन् भने वरिपरिका ६ वटा कार र २-३ वटा अटोरिक्सा पनि आगोले जलेका छन् ।
विस्फोटको कारण अझै खुलेको छैन । विस्फोट भएको कारको खराबी वा ग्यास चुहावट जस्ता आकस्मिक कारणले भएको हो वा कुनै आतंकवादी हमला हो भन्ने स्पष्ट भएको छैन । विस्फोटन भएको स्थान लालकिल्ला मेट्रो स्टेशनको अगाडिको सडकमा पर्छ । जुन लालकिल्लाको मुख्य ढोकाबाट करिब १०० देखि १५० मिटर टाढा छ । १७औं शताब्दीको लालकिल्ला भ्रमण गर्न हरेक दिन हजारौं पर्यटक आउने गर्छन् । विस्फोटनबारे अनुसन्धान जारी रहँदा लालकिल्ला तीन दिनका लागि बन्द हुने भएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी हाल भुटानमा भएकाले उनले यस घटनाबारे भुटानमा नै रहेर सम्बोधन गरेका थिए । उनले विस्फोटमा आफ्ना प्रियजन गुमाएकाहरूप्रति सहानुभूति व्यक्त गर्दै घाइते भएकाहरू छिट्टै निको हुने आशा रहेको बताए । उनी आफू रातभरि घटनाको जाँचमा सक्रिय महत्त्वपूर्ण व्यक्तिहरूसँग सम्पर्कमा रहेको बताए । उनले भने, “हाम्रो एजेन्सी यो षड्यन्त्रको तहसम्म पुग्नेछ । षड्यन्त्रकारीहरूलाई छोडिने छैन र घटनामा संलग्न भएकालाई कानूनी रूपमा जवाफदेही बनाइने छ ।”
भारतका गृहमन्त्री अमित शाहले विस्फोटको तत्काल पछि आफ्नो निवासमा उच्च स्तरको सुरक्षा बैठक गरेका थिए । जहाँ इन्टेलिजेन्स ब्युरोका प्रमुख र आतंककारी हमलाको अनुसन्धान गर्ने संघीय प्रहरी बलका प्रमुखको उपस्थिति रहेको थियो ।
दिल्ली आतंककारी हमलाहरूको पटक पटक सिकार बनेको छ ।
सन् २००५ मा दिल्ली बम विस्फोटमा दिल्लीका बजार र बसमा तीनवटा विस्फोट गरिएको थियो जहाँ करिब ६२ को मृत्यु र २०० भन्दा बढी घाइते भएका थिए । त्यस्तै, सन् २००१ मा नयाँदिल्लीस्थित संसद भवनमा बन्दुकधारीसहितको आक्रमणमा १४ जनाको ज्यान गएको थियो । १३ सेप्टेम्बर, २००८ मा पनि दिल्लीमा बम विस्फोटन भएको थियो । लालकिल्लामै पनि सन् २००० मा बन्दुकधारी आक्रमण भएको थियो जसमा ३ जनाको मृत्यु भएको थियो ।
यस्ता विभिन्न आतंककारी घटनाक्रमका कारण यो विस्फोटन पनि आतंककारी हमला हुनसक्ने शंका गरिएको छ ।




