
काठमाडौं । नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) को बेवास्ताका कारण देशभरका फुटबल खेलाडीहरू आन्दोलनमा उत्रिएका छन् । सहिद स्मारक ‘ए’ डिभिजन लिग विगत साढे दुई वर्षदेखि ठप्प हुँदा करिब २१०० खेलाडीहरू बेरोजगार र निष्क्रिय बन्न पुगेका छन् ।
यसैको विरोधमा नेपाल फुटबल खेलाडी संघ (एएफपिए) को नेतृत्वमा खेलाडीहरूले ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सअगाडि सशक्त प्रदर्शन गरेका छन् ।
प्रदर्शनकारी खेलाडीहरूले “मैदानमा शून्यता, सडक हाम्रो बाध्यता,” “एन्फाको आश, खेलाडीको भोकै वास,” र “एन्फा अझै मस्तीमा, खेलाडी चाहिँ सास्तीमा” जस्ता नाराहरू लगाएर एन्फाको ध्यानाकर्षण गराएका छन् । उनीहरूले आफूहरूले जितेका पुराना पदकहरू एन्फाको गेटमा टाँगेर विरोध जनाएका थिए। यस प्रदर्शनका क्रममा एन्फाका प्रमुख अधिकारीहरू काठमाडौं बाहिर रहेको जानकारीले खेलाडीहरूको आक्रोशलाई थप बढाएको थियो ।
नेपालको मुख्य फुटबल प्रतियोगिता ‘ए’ डिभिजन लिग नियमित रूपमा नहुँदा खेलाडीहरूको आम्दानी, खेलको तन्दुरुस्ती, अनुभव र अवसरहरू सबै प्रभावित भएका छन् । यसले खेलाडी मात्र नभई प्रशिक्षक, रेफ्री, क्लब र फुटबल समर्थकहरूलाई समेत निराश बनाएको छ । पछिल्लोपटक यो लिगको अन्तिम संस्करण २०८० जेठ २७ मा सम्पन्न भएको थियो ।
यसैबीच, कार्तिक १७ गते एन्फाले ‘ए’ डिभिजन क्लबहरूसँगको संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सहिद स्मारक ‘ए’ डिभिजन लिग वर्ष २०८३ को पौषमा गर्ने घोषणा गरेको थियो । तर, खेलाडीहरूले यो घोषणा अपुग रहेको भन्दै तत्काल लिग सुरु गर्नुपर्ने माग गरेका छन् । उनीहरूको तर्क छ कि नेसनल लिगले सबै खेलाडीहरूलाई प्लेटफर्म दिन सक्दैन, त्यसैले ‘ए’ डिभिजन लिग नै तत्काल सञ्चालन हुनुपर्छ ।
खेलाडीहरूले एन्फा र खेलाडी संघबीचका बैठक तथा छलफलहरू प्रत्यक्ष प्रसारण गरिनुपर्ने माग गरेका छन् । उनीहरू निर्णय प्रक्रियामा पारदर्शिता चाहन्छन्। खेलाडीहरूले एन्फालाई एक हप्ताको समय दिएका छन् । यदि त्यस अवधिभित्र लिगबारे ठोस योजना नआए थप कडा कदम चाल्ने चेतावनी उनीहरूले दिएका छन् ।




