सानिमा बैंकको सीईओमा पवनकुमार आचार्य नियुक्त

काठमाडौं । सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पवनकुमार आचार्य नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले आचार्यलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

हालका सीईओ निश्चलराज पाण्डेको कार्यकाल आगामी माघ ११ गते समाप्त हुँदैछ । नवनियुक्त सीईओ आचार्यले आगामी माघ १२ गतेदेखि बैंकको नेतृत्व सम्हाल्नेछन् । उनलाई आगामी चार वर्षका लागि सीईओ पदमा नियुक्त गरिएको कम्पनी सचिव रुद्रप्रसाद बन्जराले जानकारी दिए ।

एमबिए र बिइको शैक्षिक योग्यता हासिल गरेका आचार्य सन् २००४ मार्चदेखि सानिमा बैंकमा विभिन्न पदमा रहेर काम गर्दै आएका छन् । बैंकको आन्तरिक संरचना र कार्यप्रणालीमा गहिरो अनुभव सँगालेका आचार्यको नियुक्तिलाई बैंकको निरन्तरता र प्रगतिका लागि महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

ललितपुर महानगरपालिका–१५, मानभवनका स्थायी बासिन्दा आचार्यसँग बिभोर इन्भेस्टमेन्ट र नेपाल वायर्न इलेक्ट्रिकमा समेत काम गरेको अनुभव छ । उनले सन् १९९७ मार्चदेखि २००१ जुलाईसम्म नेपाल बायर्न इलेक्ट्रिकमा प्रोडक्सन इन्जिनियरका रूपमा कार्य गरेका थिए ।

बैंकिङ क्षेत्रबाहेक शैक्षिक क्षेत्रमा पनि आचार्यको अनुभव रहेको छ । उनी सन् २००३ अगस्टदेखि २००८ मेसम्म काठमाडौं कलेज अफ म्यानेजमेन्ट र एस इन्स्टिच्युट अफ म्यानेजमेन्टमा भिजिटिङ फ्याकल्टीका रूपमा आबद्ध थिए । बहुआयामिक अनुभव र लामो बैंकिङ पृष्ठभूमिका साथ आचार्यले सानिमा बैंकलाई थप उचाइमा पुऱ्याउने अपेक्षा गरिएको छ ।

यस नियुक्तिसँगै सानिमा बैंकले नयाँ नेतृत्वमा थप ऊर्जा र रणनीतिका साथ अगाडि बढ्ने विश्वास लिइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री