मध्यरात नियुक्ति पाएका मधेसका मुख्यमन्त्रीले लिए होटेलमै शपथ

काठमाडौं । मधेस प्रदेशमा राजनीतिक घटनाक्रमले नाटकीय मोड लिएको छ । रातारात मुख्यमन्त्रीमा नियुक्त भएका सरोजकुमार यादवले एक होटेलमा शपथग्रहण गरेपछि यसले ठूलो विवाद जन्माएको छ । मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा एमाले संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरी बर्दिबासको पानस होटेलमा आज बिहान सबेरै शपथ गराएकी हुन् ।

आइतबारको मितिमा यादवलाई सबैभन्दा ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गरिएको थियो । उनलाई आइतबारकै मिति राखेरै आज बिहानीपख नियुक्तिपत्र प्रदान गरिएको जनाइएको छ । निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले पदबाट राजीनामा दिएपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको हैसियतले यादव मुख्यमन्त्री नियुक्त भएका हुन् ।

मुख्यमन्त्री यादवको शपथग्रहण लगत्तै एक भिडियो सार्वजनिक भएको छ जसमा उनले होटेलमा नै शपथ लिइरहेको देखिन्छ ।

यादवलाई मुख्यमन्त्री नियुक्त गर्नुअघि भने प्रदेश प्रमुख भण्डारी अस्वस्थ भएको भन्दै आज बिहानै जनकपुरबाट काठमाडौं प्रस्थान गरेकी थिइन् । त्यसक्रममा निवर्तमान मुख्यमन्त्री सोनलले उनलाई स्वास्थ्य लाभको कामना गर्दै बिदाइ गरेका थिए । सोनलले प्रदेश प्रमुख भण्डारी स्वस्थ भएपछि थप राजनीतिक प्रक्रिया अघि बढ्ने प्रतिक्रिया दिएका थिए । तर, त्यसको लगत्तै प्रदेश प्रमुख भण्डारीले एमाले दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेको पत्र सार्वजनिक भयो ।

आफूले उपचारका लागि बिदाइ गरेकी प्रदेश प्रमुख भण्डारीले सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेर शपथ खुवाएपछि निवर्तमान मुख्यमन्त्री एवं लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र सोनलले गम्भीर आपत्ति जनाएका छन् । उनले मधेस प्रदेशको अस्मिता समाप्त पार्ने खेल खेलिएको आरोप लगाएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री