होटलमा मुख्यमन्त्री नियुक्तिको पत्र थमाएर काठमाडौं लागिन् मधेसकी प्रमुख सुमित्रा

काठमाडौं । मधेस प्रदेशमा राजनीतिक घटनाक्रमले अप्रत्याशित मोड लिएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले अबेर राति यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ (३) बमोजिम प्रदेश सभामा सबैभन्दा ठूलो दलको नेताको रूपमा यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् । तर, यो नियुक्तिसँगै प्रदेश प्रमुख भण्डारी भने काठमाडौं प्रस्थान गरेकी छन् ।

नियुक्ति पत्र बुझेपछि मुख्यमन्त्री यादवले जनकपुरमा विरोध प्रदर्शन भइरहेको र अवस्था सहज नभएकाले सिन्धुलीमा शपथको कार्यक्रम राखिएको स्पष्टीकरण दिएका छन् । उनले भने, ‘मैले भर्खरै मुख्यमन्त्री पदमा शपथ लिएँ । जनकपुरमा अवस्था सहज थिएन । विरोध प्रदर्शन भइरहेको थियो । त्यही भएर सिन्धुलीमा कार्यक्रम राखिएको हो ।’

पूर्वमुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले यस नियुक्ति प्रक्रियालाई ‘मधेस प्रदेशका जनताप्रति धोका’ भनी तीव्र असन्तुष्टि व्यक्त गरेका छन् । सोनलका अनुसार प्रदेश प्रमुख भण्डारीले बर्दिबास र सिन्धुलीको सिमानामा रहेको एक होटलमा नियुक्तिपत्र प्रदान गरेर काठमाडौं प्रस्थान गरेकी हुन् । उनले आफ्नो अस्वस्थताको कारण दिएको बताइएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा मुख्यमन्त्री नियुक्तिको भिडियोसहित सोनलले आक्रोश व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘मधेस प्रदेशको जनतासँग धोका भयो । स्वास्थ्य उपचारको नाममा निस्केकी मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिन्धुली र महोत्तरीको सिमानाको एउटा होटेलमा प्रदेशको अस्मितालाई समाप्त पार्ने खेल गरिन् ।’

तत्कालीन मुख्यमन्त्री सोनलले नै प्रदेश प्रमुख भण्डारीलाई जनकपुरबाट बिदाइ गरेको केही घण्टामै यस्तो नाटकीय घटनाक्रमले मधेस प्रदेशको राजनीतिक वृत्तमा हलचल मच्चाएको छ । 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री