कांग्रेस नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा  पूर्वमन्त्री मोहम्मद अफताब आलमको उपचारका क्रममा काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा निधन भएको छ । ७० वर्षीय आलमको २ बजेर ५८ मिनेटमा निधन भएको अस्पतालले पुष्टि गरेको हो । 

लामो समयदेखि अस्वस्थ रहेका आलमलाई दुई साताअघि केएमसी अस्पतालमा भर्ना गरिएको थियो । उनको अवस्था गम्भीर बनेपछि सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गरिएको थियो र पछि भेन्टिलेटरको सहायतामा राखिएको अस्पताल व्यवस्थापन प्रमुख नारायण प्रसाद दाहालले जानकारी दिए । उपचारमा संलग्न चिकित्सकहरूका अनुसार आलमको मिर्गौला फेल भएको थियो र नियमित डायलाइसिस भइरहेको थियो ।

गत जेठमा नक्खु कारागारबाट रिहा भएलगत्तै उनलाई ब्रेन स्ट्रोक भएको थियो । त्यतिबेला माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराएपछि उनी थप उपचारका लागि भारत गएका थिए । चिकित्सकहरूका अनुसार ब्रेन स्ट्रोकले निम्त्याएका दीर्घकालीन असरहरू नै उनको मृत्युको प्रमुख कारण बनेको हो ।

आलमको राजनीतिक जीवन उतारचढावपूर्ण रह्यो । रौतहट क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्यमा निर्वाचित उनी एक प्रभावशाली नेताका रूपमा परिचित थिए । तर, उनको जीवनमा एउटा कालो दाग पनि थियो । संविधानसभा निर्वाचनको अघिल्लो रात, २०६४ चैत २७ गते, रौतहटको राजपुरस्थित आफ्ना काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा विस्फोट हुँदा केही व्यक्ति घाइते भएका थिए । घाइतेहरूलाई उपचार गर्नुको सट्टा जिउँदै इँटाभट्टामा लगेर जलाएको आरोप उनीमाथि लागेको थियो ।

यस घटनामा त्रिलोकप्रताप सिंह र ओशी अख्तरलगायतको हत्या भएको थियो । जिल्ला अदालत रौतहटले यसै मुद्दामा आलमलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो । यद्यपि, उच्च अदालतले जिल्लाको फैसला उल्टाएपछि उनी थुनामुक्त भएका थिए । त्यसलगत्तै उनलाई ब्रेन स्ट्रोक भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री