काठमाडौं । नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि) ले ‘पहुँचका आधारमा’ इकोनोमी क्लासका यात्रुलाई बिजनेस क्लासमा अपग्रेड गर्ने लामो समयदेखिको विकृतिलाई रोक्न कडा कदम चालेको छ । निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले बिहीबार एक परिपत्र जारी गर्दै यस्तो कार्यमा संलग्न कर्मचारीलाई आर्थिक सहित विभागीय कारबाही गर्ने चेतावनी दिएका छन् ।
निगमको बजार व्यवस्थापन विभाग र यात्रुसेवा विभागका निर्देशकहरूको ‘जब डिस्क्रिप्सन’ मा बिजनेस क्लासमा अपग्रेड गर्ने अधिकार रहेकोमा अब उक्त अधिकार तत्कालका लागि प्रयोग नगर्न र नगराउन निर्देशन दिइएको छ । यसको अर्थ अब कुनै पनि कर्मचारीले आफ्नो विवेकाधिकार प्रयोग गरी इकोनोमी क्लासका यात्रुलाई बिजनेस क्लासमा सार्न पाउने छैनन् ।
निगमभित्र लामो समयदेखि चिनजान र व्यक्तिगत सम्बन्धका आधारमा इकोनोमी क्लासको टिकट काटेका यात्रुलाई सुविधासम्पन्न बिजनेस क्लासमा अपग्रेड गरिदिने प्रचलन थियो । यसले निगमको आम्दानीमा नकारात्मक असर पर्नुका साथै पारदर्शीतामाथि पनि प्रश्न उठ्दै आएको थियो। यो निर्णयले निगमभित्रको यस्तो विकृतिलाई अन्त्य गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
निमित्त महाप्रबन्धक कालाखेतीले जारी गरेको परिपत्रमा भनिएको छ, ‘बजार व्यवस्थापन विभाग एवं यात्रुसेवा विभागको निर्देशकहरूको जब डिस्क्रिप्सनमा रहेको बिजनेस क्लास अपग्रेड सम्बन्धी अधिकार कार्यान्वयन नगर्नू/नगराउनू हुन निर्देश गरिन्छ ।’
साथै, उनले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर कसैले अपग्रेड गरे वा गर्न लगाएको पाइएमा सम्बन्धित कर्मचारीलाई आर्थिक जरिवानासहित विभागीय कारबाही गरिने स्पष्ट पारेका छन्। यसबाट निगम व्यवस्थापन यो विषयमा अत्यन्तै गम्भीर रहेको देखिन्छ ।
यो कदमले नेपाल वायुसेवा निगमको सेवालाई अझ व्यवस्थित, पारदर्शी र व्यावसायिक बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ । निगमले यात्रुहरूलाई समान व्यवहार गर्न र नियम कानुनको पालना सुनिश्चित गर्न यो निर्णय लिएको हो ।




