एक्सेल डेभलपमेन्ट बैंकद्वारा कृष्णद्वैपायन गुरुकुललाई रंगीन फोटोकपी मेसिन हस्तान्तरण

काठमाडौं । कोशी प्रदेशको बैंकिङ क्षेत्रमा अग्रणी भूमिका खेलिरहेको एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत झापाको भद्रपुर–६, तेलीभिट्टास्थित श्री कृष्णद्वैपायन गुरुकुल वेद विद्याश्रमलाई एक थान रंगीन फोटोकपी मेसिन हस्तान्तरण गरेको छ। यस सहयोगले गुरुकुलका विद्यार्थीहरूको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

बैंकका बजार व्यवस्थापन अधिकृत गजेन्द्र ढकालले एक विशेष कार्यक्रमबीच गुरुकुलको व्यवस्थापन समितिका अध्यक्ष शान्ता बराललाई उक्त सामग्री हस्तान्तरण गर्नुभयो। हस्तान्तरण कार्यक्रममा बैंकका चन्द्रगढी शाखाका कर्मचारी सोनाम वाङ्ग्चुक शेर्पालगायत बैंकका अन्य कर्मचारीहरू, विद्यालय समितिका उच्च पदाधिकारीहरू, शिक्षकवर्ग र विद्यार्थीहरूको उपस्थिति थियो।

कार्यक्रममा बोल्दै गुरुकुलकी अध्यक्ष शान्ता बरालले बैंकको यस परोपकारी कार्यले विद्यार्थीहरूको सिकाइ क्रियाकलापमा थप टेवा पुग्ने बताउनुभयो। उहाँले बैंकलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै यस्ता सहयोगले शैक्षिक संस्थालाई प्रोत्साहन मिल्ने धारणा राख्नुभयो।

एक्सेल डेभलपमेन्ट बैंकका बजार व्यवस्थापन अधिकृत गजेन्द्र ढकालले बैंकको यस्तो सहकार्यले शिक्षकहरूलाई शिक्षण प्रक्रिया सुदृढ बनाउन मद्दत गर्ने र स्थानीय समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले बैंकले आगामी दिनहरूमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यहरूलाई निरन्तरता दिँदै समाजको शैक्षिक, आर्थिक र सामाजिक विकासमा योगदान पुर्याउने दृढ प्रतिबद्धता व्यक्त गर्नुभयो।

कोशी प्रदेशलाई मुख्य कार्यक्षेत्र बनाएको एक्सेल डेभलपमेन्ट बैंकले आफ्ना ४७ वटा शाखा र ३ वटा एटिएममार्फत २ लाख ५० हजारभन्दा बढी ग्राहकहरूलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ। हाल प्रदेशका ८ जिल्लामा सेवा विस्तार गरिसकेको बैंकले आगामी दिनहरूमा थप शाखाहरू विस्तार गरी कोशी प्रदेशका अन्य जिल्लाहरूमा समेत आफ्नो सेवा पुर्याउने लक्ष्य राखेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप