काठमाडौं । नेपालको बैंकिङ्ग क्षेत्रमा दख्खल राख्ने अनुभवी बैंकर सुजित कुमार शाक्यले एनआईसी एशिया बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को पदभार ग्रहण गरेका छन् । सोमबार बसेकाे सञ्चालक समितिको ७३६ औँ बैठकको निर्णयानुसार शाक्यलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको थियो ।
झन्डै तीन दशकभन्दा लामो बैंकिङ्ग अनुभव सँगालेका शाक्यको आगमनले एनआईसी एशिया बैंकको नेतृत्वमा नयाँ उर्जा र गतिशीलता थपिने अपेक्षा गरिएको छ । पदभार ग्रहण समारोहमा बैंकका सञ्चालक समिति सदस्यहरू तथा उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।
एक अनुभवी नेतृत्व
सुजित कुमार शाक्यले भारतको नयाँ दिल्लीस्थित दिल्ली विश्वविद्यालयबाट ब्याचलर इन कमर्स (B.Com) र भारतकै इन्स्टिच्युट अफ प्रोडक्टिभिटी एण्ड म्यानेजमेन्ट, लखनऊबाट व्यवस्थापनमा स्नातकोत्तर (MBA) को उपाधि हासिल गरेका छन् । सन् १९९६ मा तत्कालीन नेपाल श्रीलङ्का मर्चेन्ट बैंकबाट आफ्नो बैंकिङ्ग यात्रा सुरु गरेका शाक्यले हिमालयन बैंक लिमिटेड, तत्कालीन लक्ष्मी बैंक लिमिटेड लगायतका प्रतिष्ठित बैंकहरूमा कार्य अनुभव सँगालेका छन् ।
सन् २००७ देखि तत्कालीन बैंक अफ एशिया नेपाल लिमिटेडमा विजनेस बैंकिङ्ग प्रमुखको रूपमा जिम्मेवारी सम्हालेका शाक्यले एनआईसी बैंक लिमिटेडसँगको मर्जर प्रक्रियामा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । मर्जरपश्चात बनेको एनआईसी एशिया बैंक लिमिटेडमा सहायक महाप्रबन्धकको रूपमा कर्पोरेट बैंकिङ्ग प्रमुख भई महत्वपूर्ण जिम्मेवारी सम्हालेपछि उनले तत्कालीन सिभिल बैंक लिमिटेड, तत्कालीन जनता बैंक लिमिटेड र ग्लोबल आईएमई बैंक लिमिटेडमा नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा समेत कार्य गरे ।
एनआईसी एशिया बैंकमा प्रमुख कार्यकारी अधिकृतको रूपमा आउनुअघि शाक्य नबिल बैंक लिमिटेडमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए ।
शाक्यको नेतृत्वले एनआईसी एशिया बैंकलाई अझ बढी सहज, सबल, गतिशील, विश्वसनीय, उत्तरदायी तथा परिणाममुखी बैंकिङ्ग अभ्यासमा अगाडि बढाउने बैंकको विश्वास छ । उनको दूरदृष्टि र कुशल नेतृत्वले बैंकले महत्वपूर्ण उपलब्धिहरू हासिल गर्ने र प्रतिष्ठाको शिखरमा पुर्याउने दृढ विश्वासका साथ बैंक परिवारले उनको सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।




