२४२ प्रतिशतले बढ्यो मितेरी डेभलपमेन्ट बैंकको नाफा

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेड (MDB) ले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्म उल्लेखनीय वित्तीय प्रगति गरेको छ। बैंकले सो अवधिसम्म २ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २४२ प्रतिशतले बढी हो। गत वर्षको पहिलो त्रैमासमा बैंकले ७३ लाख ६१ हजार रुपैयाँ नाफा कमाएको थियो।

बैंकको नाफामा आएको तीव्र वृद्धि मुख्यतः ब्याज आम्दानीको बढोत्तरी र लागत नियन्त्रणका कारण भएको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७७.२८ प्रतिशतले बढेर ७ करोड २९ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, खुद फि तथा कमिशन आम्दानी १९६ प्रतिशतले वृद्धि भएको छ।

असोज मसान्तसम्ममा बैंकको कर्जा ९.३८ प्रतिशतले बढेर ५ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ भने निक्षेप १६.६५ प्रतिशतले बढ्दै ७ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ। सो अवधिमा बैंकको कर्जा सम्बन्धी ह्रास खर्च ६६.८९ प्रतिशतले बढ्दै १ करोड ६० लाख रुपैयाँ पुगेको छ।

सञ्चालन नाफा ३ करोड ६० लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिमा १ करोड ५ लाख रुपैयाँ मात्र थियो। बैंकको सञ्चित नाफा १७ करोड ७९ लाख रुपैयाँ पुगेको छ भने जम्मा जगेडा कोष ३४ करोड ८७ लाख रुपैयाँमा पुगेको छ।

बैंकको पूँजी पर्याप्तता अनुपात (Capital Adequacy Ratio) घट्दै २७.४३ प्रतिशतमा पुगेको छ, तर असल नचल्ने कर्जा (NPL) घट्दै ०.५५ प्रतिशतमा सीमित भएको छ। फन्डको लागत घटेर ४.९२ प्रतिशतमा झरेको छ।

बैंकको प्रतिशेयर आम्दानी (EPS) गत वर्षको ०.४२ रुपैयाँबाट उकालो चढ्दै ८.२९ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ २८ पैसा पुगेको छ। त्रैमासिक अन्त्यसम्म बैंकको बजार मूल्य ५४० रुपैयाँ र प्राइस–टू–अर्निङ रेसियो (P/E Ratio) ६५.१४ गुणा रहेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री