काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाल एसोसियसन अफ सफ्टवेयर एण्ड आईटी सर्भिसेस (नास–आईटी) का सदस्यहरूसँग बैंकको कर्जा दायरा विस्तार, डिजिटल बैंकिङ्ग सेवा र व्यवसाय वृद्धिसम्बन्धी विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा बैंकले कर्जाका प्रकार, प्रक्रिया र आवश्यकता, आईटी क्षेत्रका लागि विशेष कर्जा योजनाहरू, नवीनतम बैंकिङ्ग सेवा, डिजिटल सुरक्षा उपाय र वित्तीय व्यवस्थापनका विषयमा विस्तृत छलफल गरेको थियो।
कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकले विभिन्न पेसा र व्यवसायसँग आबद्ध समूहलाई लक्षित गर्दै अन्तरक्रियात्मक कार्यक्रममार्फत व्यवसाय विस्तारमा जोड दिइरहेको बताए। उनले आम नागरिकमा वित्तीय साक्षरता अभिवृद्धि गर्न देशभर बैंकले विविध कार्यक्रम सञ्चालन गरिरहेको जानकारी पनि दिए।
सीईओ रेग्मीका अनुसार, बैंक र नास–आईटीबीचको सहकार्यले दुवै संस्थामा आवद्ध कर्मचारीहरूको ज्ञान, सीप र अनुभव विकासमा सहयोग पुर्याउनेछ। साथै, ग्लोबल आइएमई बैंक नास–आईटीको नवस्थापित दिगो कोषलाई सहयोग गर्ने पहिलो दिगो साझेदार बनेको उल्लेख गरिएको छ।
कार्यक्रममा दुवै संस्थाका प्रतिनिधिहरूले आईटी क्षेत्रको दिगो वित्तीय पहुँच, डिजिटल कारोबार विस्तार, र फिनटेक–मैत्री वातावरण निर्माणका उपायबारे सुझाव प्रस्तुत गरेका थिए। ग्लोबल आइएमई बैंकले हाल देशभरका शाखा र डिजिटल प्लेटफर्ममार्फत व्यापक वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।




