काठमाडौं । नेपाल एसबिआई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत पशुपति मन्दिर परिसरस्थित कैलाश डाँडामा वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। यस कार्यक्रमको शुभारम्भ बैंकका अध्यक्ष वेंकट वंसीधर कुंचाले एक विरुवा रोपेर गर्नुभएको थियो।
पशुपति क्षेत्रको संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस कार्यक्रममा बैंकका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो। बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी, सञ्चालक रितेश सिन्हा, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पण्डा लगायत अन्य पदाधिकारीहरूको सक्रिय सहभागिता थियो। बैंकले यसअघि पनि पशुपति क्षेत्रमा यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्दै आएको जानकारी दिएको छ।
नेपाल एसबिआई बैंक विगत ३२ वर्षदेखि नेपाली बैंकिङ क्षेत्रमा सेवा प्रदान गर्दै आइरहेको छ। हाल बैंकले १०१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखारहित बैंकिङ सेवा केन्द्र, ७ प्रादेशिक कार्यालय, १२७ एटिएम र १ कर्पोरेट कार्यालयमार्फत आफ्ना ग्राहकहरूलाई आधुनिक तथा भरपर्दो बैंकिङ सेवा उपलब्ध गराइरहेको छ।




