काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल सरकारद्वारा स्थापित भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड रुपैयाँको महत्त्वपूर्ण आर्थिक सहयोग प्रदान गरेको छ। जेनजी आन्दोलनका क्रममा देशभरका सार्वजनिक संरचनामा पुगेको क्षति, त्यसको पुनर्निर्माण, प्रभावितहरूका लागि राहत तथा समग्र आर्थिक पुनरुत्थानको बृहत् लक्ष्यका साथ यो सहयोग उपलब्ध गराइएको कम्पनीले जनाएको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशकुमार खत्री र नायब महाप्रबन्धक प्रज्वल सायमीले मंगलबार अर्थ मन्त्रालयमा आयोजित एक विशेष समारोहमा उक्त रकम बराबरको चेक सम्माननीय अर्थमन्त्री रामेश्वर प्रसाद खनाललाई हस्तान्तरण गर्नुभयो।
यस सहयोगबारे प्रकाश पार्दै प्रमुख कार्यकारी अधिकृत खत्रीले यो कार्य कम्पनीको अटल संस्थागत सामाजिक उत्तरदायित्व (CSR) प्रतिको प्रतिबद्धताको द्योतक भएको बताउनुभयो। उहाँले कम्पनीले विगत लामो समयदेखि शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन र वातावरण संरक्षणजस्ता महत्त्वपूर्ण क्षेत्रमा निरन्तर सहयोग पुर्याउँदै आएको स्मरण गर्दै भविष्यमा पनि यस्ता जनमुखी कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले नियामक निकायको निर्देशनबमोजिम प्रत्येक आर्थिक वर्षको खुद मुनाफाको एक प्रतिशत रकम छुट्याई संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्दै आइरहेको छ। यसरी संकलित कोषबाट कम्पनीले विभिन्न सामाजिक हितका कार्यहरूमा योगदान पुर्याउँदै आएको छ।




