जेनजी आन्दोलन : प्रहरी कार्यालय तोडफोड गर्ने ८ अभियुक्त स्वयं उपस्थित

काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयमा तोडफोड गरेको आरोप लागेका आठ जना प्रहरी समक्ष स्वयं उपस्थित भएका छन् । प्रहरी वृत्त जगातीमा तोडफोड गर्ने व्यक्तिहरूको पहिचान गरेपछि जिल्ला प्रहरी परिसर भक्तपुरले उनीहरूलाई उपस्थित हुन सोमबार सूचना दिएको थियो ।

सूचनापछि आठ जना स्वयं उपस्थित भएको काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआईजी दानबहादुर कार्कीले जानकारी दिएका छन् ।

प्रहरी समक्ष उपस्थित हुनेहरूमा काभ्रे भुम्लु गाउँपालिका-३ का ३४ वर्षीय रामशरण परियार, बनेपा नगरपालिका-४ का ३२ वर्षीय रूपक परियार, सर्लाही लालबन्दी नगरपालिका-६ का २६ वर्षीय होमबहादुर खत्री र नमोबुद्ध नगरपालिका-१ का २२ वर्षीय अमृत सुनुवार छन् ।

त्यस्तै, महोत्तरी सोनाम गाउँपालिका-८ का १८ वर्षीय प्रह्लादकुमार ठाकुर, भक्तपुर नगरपालिका-८ का ३२ वर्षीय राजन माक, सर्लाहीका १६ वर्षीय सरोज बमजन र नमोबुद्ध नगरपालिका-६ का २२ वर्षीय विकास तामाङ रहेका छन् । उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री