काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगममा पहुँचका आधारमा नियुक्त गरिएका करार कर्मचारीलाई तत्काल हटाउन निर्देशन दिएकी छिन् । नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयको जिम्मेवारी समेत सम्हालिरहेकी प्रधानमन्त्री कार्कीले शुक्रबार सिंहदरबारमा निगमका सञ्चालक समिति र अधिकारीलाई बोलाएर यस्तो निर्देशन दिएकी हुन् ।
प्रधानमन्त्री कार्कीले नातावाद र कृपावादका कारण संस्थाको विश्वसनीयता गुम्दै गएको भन्दै आक्रोश व्यक्त गरिन् । उनले भनिन्, ‘हामीले नातावाद, कृपावाद र विभेद अन्त्य गर्न आन्दोलन गरेका हौँ। तर अहिले पनि पहुँचका भरमा भर्ती भइरहेको देख्दा दुःख लाग्छ । अब यो प्रवृत्ति तुरुन्त अन्त्य गर्नुपर्छ।’
निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले हाल निगम १७ अर्ब रुपैयाँभन्दा बढीको सञ्चित नोक्सानीमा पुगेको विवरण प्रस्तुत गरेका थिए । निगमको अवस्था धनाढ्यको बिग्रिएको घरसँग तुलना गर्दै प्रधानमन्त्री कार्कीले भनिन्, ‘हेर्दा सबै कुरा भएकोजस्तो देखिन्छ, तर भित्र अवस्था अत्यन्तै दयनीय छ। नाफा त परै जाओस्, घाटा पनि नहोस् भन्ने अवस्थामा पुगेको छैन।’
उनले कुनै पनि किसिमको अनुचित दबाब नमान्न चेतावनी दिँदै भनिन्,’राजनीतिक दबाबका अगाडि झुक्नु हुँदैन । विधिसम्मत रूपमा काम गर्नुभयो भने कसैले कारबाही गर्न सक्दैन । राम्रो काम गर्दा अख्तियारसँग डराउनु पर्ने कारण छैन।’
निजी वायुसेवा कम्पनीहरूले मुनाफा कमाइरहँदा सरकारी निगम घाटामा जानुको कारण खोज्न उनले व्यवस्थापनलाई सचेत गराएकी छन् ।




