काठमाडौं । नेपाली बजारमा नयाँ स्मार्टफोन ब्रान्ड ‘एआई प्लस’ले आफ्नो आधिकारिक बिक्री–वितरण सुरु गरेको छ। रियलमी मोबाइलका पूर्व सिइओ माधव सेठद्वारा स्थापना गरिएको यो ब्रान्ड भारतीय बजारमा छोटो अवधिमा लोकप्रिय बनेपछि अब नेपालमा पनि यसको विस्तार भएको हो।
एआई प्लसले नेपालको लागि सिजी मोबाइल्सलाई आधिकारिक वितरक नियुक्त गर्दै नेपाली बजारमा सशक्त उपस्थितिको घोषणा गरेको छ। कम्पनीका अनुसार, नेपाली उपभोक्तालाई इन्टेलिजेन्ट र भ्यालु–ड्रिभन स्मार्टफोन उपलब्ध गराउने साझा उद्देश्यका कारण यो सहकार्य सम्भव भएको हो।
संस्थापक माधव सेठका अनुसार, “एआई प्लसको जन्म स्मार्ट प्रविधिलाई सबैका लागि सहज र पहुँचयोग्य बनाउने सोचबाट भएको हो। हाम्रो उत्पादन प्रविधि र डिजाइनका दृष्टिले अत्याधुनिक भए पनि मूल्यका हिसाबले अत्यन्त किफायती छन्,” उनले भने।
सिजी मोबाइल्सका बिजनेस हेड विनय जोशीले भने, “हाम्रो उद्देश्य सबै उपभोक्ताको हातमा इन्टेलिजेन्ट टेक्नोलोजी पुर्याउनु हो। बजारमा धेरै विकल्प भए पनि एआई प्लस भने पूर्ण रूपमा भ्यालु–ड्रिभन ब्रान्ड हो।”
चौधरी समूह अन्तर्गतको सिजी मोबाइल्सले नेपाली बजारमा अन्तर्राष्ट्रिय मोबाइल ब्रान्डहरूको बिक्री–वितरण गर्दै आएको छ। प्रतिस्पर्धी मूल्य र बिक्रीपश्चातको उत्कृष्ट सेवाका कारण सिजी मोबाइल्सले बजारमा बलियो उपस्थिती बनाएको छ।
अब सोही श्रृंखलामा एआई प्लसले पनि दुई मोडेलका चार भेरियन्टसहित नेपाली बजारमा प्रवेश गरेको छ — एआई प्लस पल्स र एआई प्लस नोभा। यी मोडेलहरू ४ जिवी, ६ जिवी र ८ जिवी र्यामका विकल्पमा उपलब्ध छन्।
नेपालमा हालको अवस्थामा सबैभन्दा किफायती फाइभ जी स्मार्टफोनका रूपमा एआई प्लस नोभा ५जी रु १३,९९९ मा उपलब्ध भएको कम्पनीले जनाएको छ। साथै, ४ जिवी र्याम र ६४ जिवी स्टोरेज भएको एआई प्लस नोभा स्मार्टफोन रु ९,००० भन्दा कममा बजारमा पाइनेछ।
हाल एआई प्लस स्मार्टफोनहरू नेपालभरका मोबाइल र इलेक्ट्रोनिक्स पसलहरूमा उपलब्ध भइसकेका छन्।




