काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरूका लागि दुईदिने “सफलताको शुरुवात” कार्यक्रम पोखरा स्थित होटल पोखरा ग्राण्ड मा सम्पन्न गरेको छ। कार्यक्रममा देशभरिबाट करिब ३०० जना उत्कृष्ट अभिकर्ताहरूले सहभागिता जनाए।
कम्पनीले २०८२ भाद्र महिनामा सञ्चालन गरेको मासिक योजनाअन्तर्गत लक्ष्य प्राप्त गर्न सफल अभिकर्ताहरुलाई प्रेरणा र सम्मान प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा नेपालका चर्चित कलाकार एवं महानायक राजेश हमालज्यूको उत्प्रेरणात्मक विचार र अनुभवसमेत समावेश गरिएको थियो।
कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीज्यूले पानसमा द्विप प्रज्वलन गरी गर्नुभएको थियो। कार्यक्रममा विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रमुख लगायत कम्पनीका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो।
सीईओ खत्रीले सम्बोधन गर्दै कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा उल्लेखनीय व्यवसायिक सफलता हासिल गर्न अभिकर्ताहरूको महत्वपूर्ण भूमिका रहेको बताए। उनले अभिकर्ता समूहलाई उच्च प्राथमिकतामा राख्दै नयाँ–नयाँ प्रोत्साहन योजना ल्याउने प्रतिबद्धता जनाए।
त्यस्तै, बजार विभाग प्रमुख विवेक शर्माले बिक्री सीपसम्बन्धी विशेष तालिम प्रदान गरे भने महानायक राजेश हमालले आफ्नो संघर्ष र निरन्तरताको अनुभव बाँड्दै जुनसुकै पेशामा निरन्तरता र जिम्मेवारीबोधले मात्र सफलता प्राप्त गर्न सकिने विचार व्यक्त गरे।
कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो। मनोरञ्जनात्मक प्रस्तुतीका साथै प्रेरणादायी सत्रले कार्यक्रमलाई उत्साहपूर्ण बनाएको सहभागीहरूले बताएका छन्। उनीहरूले यस प्रकारका कार्यक्रमले वृत्ति विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।




