रातिबाट देशभर भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौँ । देशभर भइरहेको मध्यम वर्षा आज रातिदेखि भारी वर्षामा परिणत हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। पछिल्लो २४ घण्टामा ४० मिलिमिटर वर्षा रेकर्ड भएको छ, जसलाई मध्यम वर्षा मानिन्छ। तर, ५० मिलिमिटरभन्दा बढी वर्षा भएमा त्यसलाई भारी वर्षाको श्रेणीमा राखिने मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए।

“आज रातिबाट बागमती, कोशी र मधेश प्रदेशलगायतका क्षेत्रमा भारी वर्षाको सम्भावना छ,” मौसमविद् अधिकारीले भने। दिनभर यी प्रदेशहरूमा मध्यम वर्षा भइरहेको छ भने गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा फाटफुट पानी परेको छ। यसैबीच, गण्डकी र बागमती प्रदेशका उच्च हिमाली भेगमा हिमपातसहितको वर्षा भएको छ।

विभागका अनुसार बुधबारबाट सुरु भएको यो वर्षा कात्तिक १५ गते शनिबारसम्म जारी रहनेछ। यस अवधिका लागि विभागले आम सर्वसाधारणलाई सतर्कता अपनाउन र सुरक्षित रहन आह्वान गरेको छ। विशेषगरी पदयात्रामा जानेहरूलाई मौसमसम्बन्धी अद्यावधिक जानकारी लिएर मात्र यात्रा गर्न अनुरोध गरिएको छ।

यस वर्षको धान काट्ने समयमा परेको वर्षाले किसानहरूलाई चिन्तित बनाएको छ। विभागले काट्न बाँकी रहेका धानबालीका लागि किसानहरूलाई मौसमको अवस्था हेरेर मात्रै निर्णय लिन सुझाव दिएको छ। भारी वर्षाको सम्भावना रहेकाले तत्काल धान काट्ने अवस्था नरहेको मौसमविद्हरूको भनाइ छ।

भारी वर्षाको समयमा सुरक्षित रहन के गर्ने ?

  • आवश्यक नभई घरबाहिर ननिस्कने।

  • यात्रा गर्दा मौसम पूर्वानुमानबारे जानकारी लिने।

  • खोलानाला र नदी किनारमा नजाने।

  • पानीको निकास राम्रो नभएका स्थानहरूमा सतर्क रहने।

  • ग्रामीण क्षेत्रमा पहिरोको जोखिमबारे सचेत रहने।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री