काठमाडौं । नेपालको श्रमिक आन्दोलनले एक सशक्त र जुझारु नेता गुमाएको छ । राष्ट्रिय ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष तथा लामो समयदेखि श्रमिक हकहितका लागि संघर्षरत कमल गौतमको बिहीबार भैरहवामा आकस्मिक निधन भएको हो ।
उनी ६५ वर्षका थिए । भैरहवास्थित नेपाल विद्युत प्राधिकरण कार्यालयअगाडि आयोजित धर्ना कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला गौतम अचानक ढलेपछि कार्यक्रमस्थलमा कोलाहल मच्चिएको थियो । उपस्थित सबैले तत्काल उनलाई उद्धार गरी मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्याएका थिए । तर, अस्पताल पुर्याइएको केही समयमै चिकित्सकहरूले उनलाई मृत घोषणा गर्दा सबैमा शोक छायो ।
बुटवल उपमहानगरपालिका-३, ज्योतिनगरका स्थायी बासिन्दा गौतम २०५४ सालदेखि जिफन्टमा सक्रिय रूपमा संलग्न थिए । उनले ट्रेड युनियन आन्दोलनमा पुर्याएको योगदान अतुलनीय रहेको जिफन्टका नेता तथा कार्यकर्ताहरूले बताए । श्रमिकहरूको हकअधिकार र सामाजिक न्यायका लागि उनले जीवनपर्यन्त संघर्ष गरे । उनको निधनले नेपाली श्रमिक आन्दोलनमा अपूरणीय क्षति पुगेको छ ।
जिफन्टले गौतमको निधनमा गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । उनका दुई छोरा र श्रीमती छन् । उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि कहाँ राख्ने र अन्त्येष्टि कहिले गर्ने भन्ने विषयमा जिफन्टले निर्णय गर्ने बताइएको छ ।




