काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुलुकको दीर्घकालीन रूपान्तरणका लागि समान सोच र शैली भएका व्यक्ति तथा समूहहरूबीच बृहत् राजनीतिक एलायन्स निर्माण गर्ने उद्देश्यले यहि कार्तिक १४ गते “’हत् राजनीतिक संवाद’ आयोजना गर्ने निर्णय गरेको छ ।
रास्वपा सचिवालयको कार्तिक ९ र ११ गते बसेको बैठकले महत्त्वपूर्ण निर्णयहरू सार्वजनिक गर्दै नयाँ राजनीतिक ध्रुवीकरणको संकेत दिएको छ । पार्टी उपसभापति एवं उच्चस्तरीय संवाद समिति संयोजक डा. स्वर्णिम वाग्लेले संयोजन गर्ने यस संवादको मुख्य उद्देश्य जेन-जी पुस्ताले सुशासनका पक्षमा गरेको हस्तक्षेपपछिको परिवर्तित राजनीतिक परिवेशमा प्राप्त उपलब्धिहरूको दीगो संरक्षण गर्नु रहेको जनाइएको छ ।
गत तीन वर्षको संसदीय अनुभव र छरिएका पहलहरूलाई एकरूपता दिने सदिच्छाका साथ प्रवास र स्वदेशका आम नेपाली जनताले आशा गरेका नयाँ राजनीतिक शक्तिहरू, स्वतन्त्र विचारक एवं अभियन्ता तथा नवयुवा पुस्ताका प्रतिनिधिहरूबीच सार्थक सहकार्यको मार्ग प्रशस्त गर्ने रास्वपाको योजना छ । संवादका उद्देश्यहरूमा आन्दोलनको उत्पत्ति, नतिजा र अग्रगामी सुधारका सन्देशबारे साझा बुझाइ निर्माण गर्नु, लोकतान्त्रिक मान्यता, समुन्नति र राष्ट्रियताको प्रवर्द्धनका लागि बृहत् एकता र सहकार्यको रेखांकन गर्नु, र उन्नत रूपान्तरणका लागि आसन्न प्रतिनिधिसभा निर्वाचनलाई रणनीतिक साझेदारीको अवसरका रूपमा उपयोग गर्ने सम्भाव्यता खोज्नु रहेको पार्टीले स्पष्ट पारेको छ ।
निर्वाचन आयोगले कार्तिक मसान्तसम्म तोकेको मतदाता नामावली दर्ताको समयसीमालाई ध्यानमा राख्दै रास्वपाले कार्तिक ११ देखि २५ गतेसम्म ‘मतदाता नामावली दर्ता सहजीकरण अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ । देशभरका धेरै नवयुवा लगायत नागरिकहरूको मतदाता नामावलीमा दर्ता नभएको अवस्थालाई मध्यनजर गर्दै पार्टी संयन्त्र रहेका हरेक वडा, पालिका, निर्वाचन क्षेत्र र जिल्ला तहमा यो अभियान सञ्चालन गरिनेछ । पार्टी सचिवालय सदस्य श्री गणेश पराजुलीले केन्द्रीय अभियान तथा प्रचारप्रसार विभागसँगको समन्वयमा यस अभियानको संयोजन गर्नेछन् ।
बैठकले पार्टीका गतिविधिहरू नियमित सञ्चालन गर्ने, विशेषतः वडा, पालिका अधिवेशनहरू सुचारु गर्ने र जिल्ला तथा प्रवासमा समेत प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय गरेको छ । साथै, पार्टीका हरेक तहलाई आफ्नो क्षेत्रमा विभिन्न अभियानहरू सञ्चालन गर्न निर्देशन दिइएको छ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका क्रममा समानुपातिकतर्फको उम्मेदवारी आह्वान गर्नका लागि आवश्यक दस्तावेजहरूबारे पनि छलफल भएको छ । कार्तिक २२ गतेभित्र समानुपातिकतर्फको उम्मेदवारी आह्वान गर्ने महत्त्वपूर्ण निर्णय पनि रास्वपाले गरेको छ ।




