प्रतिनिधिसभा विघटन असंवैधानिक : कार्यवाहक सभापति खड्का

  • ‘प्राण लिने उद्देश्यले देउवा दम्पतीमाथि साङ्घातिक आक्रमण’

काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले हालै प्रतिनिधिसभा विघटनलाई ‘असंवैधानिक’ कदमको संज्ञा दिएका छन् । सोमबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा नेपाल तरुण दलको ७३औँ स्थापना दिवसका अवसरमा बोल्दै उनले जेनजी आन्दोलनपश्चात् गठित अन्तरिम सरकारले संविधानको मर्म र भावनाविपरीत संसद् विघटन गरेकोमा गम्भीर आपत्ति जनाए ।

कार्यवाहक सभापति खड्काले भने, “प्रतिनिधिसभा असंवैधानिक तवरले विघटन भयो। हामी यही जटिल पृष्ठभूमिमा तरुण दलको स्थापना दिवस मनाउँदैछौँ।” उनले देश अहिले कठिन मोडबाट गुज्रिरहेको उल्लेख गर्दै यस चुनौतीपूर्ण घडीमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको रक्षाका लागि महत्त्वपूर्ण र प्रशंसनीय भूमिका निर्वाह गरेको बताए। “जलेको शीतल निवासको आँगनमै बसेर उहाँले जनताको पक्षमा उभिँदै संविधानको रक्षा गर्नुभयो,” खड्काले भने।

कार्यक्रममा उनले तरुण दलका सदस्यहरूलाई राष्ट्रिय एकता र नागरिकको सुरक्षाका लागि थप जुझारु भएर प्रस्तुत हुन आग्रह गरे। तर, यसका साथै उनले अनुशासन र संयमतालाई पनि उत्तिकै महत्त्व दिनुपर्नेमा जोड दिए। “देशभर नेताका घर जलाइएका छन्। यस्तो कठिन क्षणमा तरुणहरूले धैर्यता, संयमता र जिम्मेवारीसाथ संगठित भएर अघि बढ्नुपर्छ,” उनले तरुण दलका सदस्यहरूलाई निर्देशन दिए।

कार्यवाहक सभापति खड्काले गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा. आरजु राणा देउवामाथि ‘प्राण लिने उद्देश्य’ले साङ्घातिक आक्रमण भएको घटनाको पनि स्मरण गराए। उनले यस्ता हिंसात्मक गतिविधिले लोकतान्त्रिक प्रक्रियालाई कमजोर बनाउने भन्दै सबैलाई संयमित हुन आग्रह गरे।

यस जटिल राजनीतिक परिवेशमा तरुण दलको स्थापना दिवस मनाइरहँदा, कांग्रेसले आफ्ना भातृ संगठनहरूलाई राष्ट्र र संविधानको रक्षाका लागि सक्रिय भूमिका खेल्न आह्वान गरेको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री