मौसम विभागको विशेष बुलेटिन : यी स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सोमबार रातिदेखि बुधबार बिहानसम्म देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना रहेको बताउँदै सतर्क रहन आग्रह गरेको छ।

महाशाखाले सोमबार दिउँसो जारी गरेको पोस्ट-मनसुन विशेष मौसम बुलेटिन अनुसार हाल नेपालमा पश्चिमी वायु सक्रिय हुनुका साथै अरब सागरमा विकसित न्यूनचापीय प्रणालीको संयुक्त प्रभाव देखिएको छ ।

यसको कारण कात्तिक १० गते रातिदेखि १२ गते बिहानसम्म गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानमा, साथै अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही भागमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ।

महाशाखाले गण्डकी प्रदेशका उच्च हिमाली क्षेत्रमा एक/दुई स्थानमा भारी हिमपातको सम्भावनासमेत रहेको बुलेटिनमार्फत जनाएको छ ।

सावधानी अपनाउन अनुरोध गर्दै विभागले भनेको छ,’वर्षा र हिमपातका कारण दैनिक जनजीवन, यातायात, पर्वतारोहण, कृषि र पर्यटन गतिविधिमा असर पर्न सक्ने भएकाले सर्वसाधारण र सम्बन्धित निकायहरूले आवश्यक तयारी र सतर्कता अपनाउनुपर्नेछ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप