काठमाडौं । गत भदौ २४ गते प्रदर्शनका क्रममा अपशब्द प्रयोग गरी सामाजिक सञ्जालमा भाइरल बनेका निर्देशक अमन प्रताप अधिकारीले अन्ततः सार्वजनिक रूपमा माफी मागेका छन् । एक भिडियो सन्देशमार्फत उनले आफ्नो आक्रोश भ्रष्टाचार र हत्यारा सरकारविरुद्ध लक्षित रहेको स्पष्ट पार्दै त्यस क्रममा प्रयोग भएका शब्दहरूले पारेको असहजताप्रति क्षमा याचना गरेका हुन् ।
चर्चित फुटबल कमेन्टेटर तथा ‘पोइट आइडल’ रियालिटी शोका निर्देशकसमेत रहेका अधिकारीले गत भदौ २४ गते अपराह्न ५ः५२ बजे आफ्नो फेसबुक प्रोफाइलमा एक विवादित भिडियो पोस्ट गरेका थिए । उक्त भिडियोमा उनले ‘जल्यो तेरो देश’ भन्दै अराजक तथा अश्लील भाषा प्रयोग गरेका थिए, जसले व्यापक आलोचना खेपेको थियो । भिडियोमा ‘ल हेर अब… (अपशब्द) संसद् भवनभित्र पूरै… सकियो… चोर…(अपशब्द) भुसियाहरू… छोराहरू… नेताको नाममा…(अपशब्द) लुटपाट… सकियो हेर त्यहाँ, तेरो देश सकियो, तेरो राज्य …(अपशब्द) को छोराहरू… अब… सकियो… सबको पालो आउँछ…चोरी घुसखोरी… सब डढा अब…(अपशब्द) सबको ज्यान जान्छ… सक्यो… सक्यो… सक्यो…’ जस्ता अपाच्य शब्दहरू समेटिएका थिए ।
सोमबार बिहान जारी गरेको माफी भिडिओमा अधिकारीले भदौ २३ गतेको जेनजी आन्दोलनलाई समर्थन गर्न आफू संसद् भवन पुगेको र त्यहाँ गोली चलेको घटनाको स्मरण गरेका छन् । ‘संसद् भवन अगाडि गोली चल्यो । ड्याङड्याङ गोली चल्दाखेरि भागमभाग दौडादौड । मेरै अगाडिपछाडि र दायाँबायाँ स्कुल ड्रेस लगाइरहेका विद्यार्थीहरू त्यहीँ ढले । उनीहरू त्यहीँ सहिद भए,’ उनले भने ।
भदौ २४ गते ती विद्यार्थीहरूको बलिदानीले आफूलाई गहिरो आक्रोशित बनाएको अवस्थामा पुनः संसद् भवन पुगेको अधिकारीको भनाइ छ । उनले स्पष्ट पारेका छन्, ‘गोली प्रहार गर्ने, आदेश दिने तथा सरकार चलाउनेहरूलाई मैले तेरो देश सकियो बोलेँ ।’
उनले आफ्नो आक्रोश सरकार चलाउनेहरूप्रति लक्षित रहेको र त्यस क्रममा अपशब्द बोलेको स्वीकार गरेका छन् । ‘अहिले तपाईंको फोनमा मेरो भिडिओ सुन्दा अफ्ठ्यारो लाग्छ अपशब्द । माफी चाहन्छु । सुन्न नपरेको भए एकदम राम्रो हुन्थ्यो,’ उनले भने, ‘तर जो विरुद्ध मैले अपशब्द बोलेको हो, त्यसमा पछुतो गर्दिनँ ।’
अधिकारीले आफूले संसद् भवन वा कुनै पनि भवन जलाएको वा हातपात गरेको प्रमाण भेटिएमा जेल जान तयार रहेको चुनौतीसमेत दिएका छन् । यस बयानले उनीमाथि लागेका केही आरोपहरूलाई खण्डन गर्ने प्रयास गरेको बुझिन्छ ।




