काठमाडौं । आइतबारमात्रै युवा तथा खेलकुद मन्त्रीको शपथ लिएका बब्लु गुप्तामाथि ‘पैसाका लागि जे पनि गर्न सक्ने’ व्यक्तिको आरोप लागेको छ । सामाजिक सञ्जालमा सक्रिय शोभा पाठकले मन्त्री गुप्ताले आफूलाई एक्लै कोठामा राखेर धम्की दिएको भन्दै गम्भीर आरोप लगाएकी हुन् ।
एक युट्युब च्यानलसँगको कुराकानीमा पाठकले भनिन्, ‘बब्लु गुप्ता पैसाका लागि जे पनि गर्न सक्ने मान्छे हो । मलाई एक्लै कोठामा लगेर धम्की दिइयो ।’
पाठकका अनुसार केही दिनअघि माइतीघरमा भेट हुँदा समेत गुप्ताले आफ्नो आँखामा हेर्न नसकेको र नमस्कार गरेर तुरुन्तै फर्किएको उनले बताइन् । पाठकले गुप्ताले नेकपा एमाले नेता महेश बस्नेतसँगको मिलेमतोमा आफूलाई दुर्गा प्रसाईंविरुद्ध मुद्दा हाल्न धम्की दिएको आरोपसमेत लगाएकी छन् ।
-
शोभा पाठकको भनाइ जस्ताको तस्तै :-
“जुन बेला हाम्रो त्यो बेडको फोटो बाहिर आएको थियो, त्यतिबेला दुर्गा प्रसाईं र महेश बस्नेतबीच ‘वार कि पार’को अवस्था चलिरहेको थियो । त्यो समयमा म आफैं मानसिक रूपमा निकै विछिप्त अवस्थामा थिएँ । त्यसै बेला दुर्गा प्रसाईंविरुद्ध मुद्दा हाल्ने कुरा उठ्यो । मुद्दा हाल्ने कुरा आएपछि म अघि बढिनँ, किनभने त्यो काम आसा भारतीजीले गर्नुपर्ने भनिएको थियो । तथ्यमा पुग्नुपर्ने भएकाले मैले आसा भारतीजीलाई अगाडि सारें ।
तर, दुर्गा प्रसाईंलाई मुद्दा नहाल्ने कुरा भएपछि महेश बस्नेतलगायतले मलाई पेप्सीकोलास्थित एउटा घरमा लिएर जानुभयो। त्यहाँ पुगेपछि बब्लु गुप्ता पनि त्यही उपस्थित हुनुहुन्थ्यो । त्यो दिनसम्म म उहाँलाई व्यक्तिगत रूपमा चिन्दिनँ-कोरोना कालमा काम गरेको भनेर नाम मात्रै सुनेकी थिएँ ।
त्यो घरको कोठामा मलाई लगेर तीन-चार जना पुरुषहरू थिए, म एक्ली महिला थिएँ । केही दिनअघि माइतीघरमा उहाँ (गुप्ता) लाई भेट्दा पनि उहाँले मेरो आँखामा हेर्न सक्नुभएन, नमस्कार गर्नुभयो तर एक शब्द पनि बोल्न सक्नुभएन र एक मिनेट पनि टिक्न सक्नुभएन ।
म यति मात्र भन्छु- बब्लु गुप्ता पैसाका लागि जे पनि गर्न सक्ने मान्छे हुन् । मलाई एउटा कोठामा लगेर भनियो-या त यो भन, नत्र तेरो ज्यान छैन । त्यसलाई के भनिन्छ, तपाईंहरूले नै बुझ्न सक्नुहुन्छ ।”




