कार्की सरकार विस्तारमा सकस, सुनार र श्रेष्ठको नाम हट्यो

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा हुन लागेको सरकार विस्तारमा अन्तिम समयमा आएर सकस देखिएको छ । विभिन्न कारणले गर्दा सिफारिस गरिएका दुई मन्त्रीको शपथ रोकिएको छ भने सरकार विस्तारको प्रक्रिया नै प्रभावित भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा सिफारिस गरिएका खगेन्द्र सुनारको शपथ फौजदारी मुद्दाका कारण रोकिएको छ। दैलेखको नारायण नगरपालिका-२ भैसेखोर घर भएका सुनारविरुद्ध २०८१ असारमा सुर्खेत जिल्ला अदालतमा स्वास्थ्य संस्था तोडफोड तथा स्वास्थ्यकर्मीमाथि हातपात गरेको कसुरमा फौजदारी मुद्दा दर्ता भएको खुलासा भएको हो ।

अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गर्दै २०८१ मङ्सिर २१ मा पक्राउ गरेर उपस्थित गराउन जिल्ला प्रहरी कार्यालय दैलेखलाई पत्राचार गरेको थियो ।

प्रधानमन्त्री कार्कीले आइतबार बिहान राष्ट्रपति कार्यालयमा पठाएको नामावलीमा सुनारलाई श्रममन्त्री बनाउने उल्लेख थियो । तर, यो तथ्य सार्वजनिक भएपछि प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले राष्ट्रपति कार्यालय पुगेर सुनारलाई शपथ नगराउने जानकारी गराएका छन् । यद्यपि, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठले भने सुनारको नाम मन्त्रीको सूचीमा समावेश नै नरहेको दाबी गरेका छन्, जुन उनको विरुद्धमा पक्राउ पुर्जी जारी भएको विवरण सार्वजनिक भएपछि आएको हो ।

यसैगरी, भूमि व्यवस्था तथा सहकारीमन्त्रीमा सिफारिस गरिएका गणपतिलाल श्रेष्ठको नाम पनि अन्तिम समयमा फिर्ता भएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार श्रेष्ठले पर्यटन मन्त्रालयको आकांक्षा राखेका थिए तर प्रधानमन्त्री कार्कीले उनलाई भूमिमन्त्रीमा सिफारिस गरेकी थिइन् । आकांक्षा नमिल्दा श्रेष्ठले असन्तुष्टि जनाएपछि उनको नाम फिर्ता भएको बताइएको छ ।

यी दुई नाम फिर्ता भएपछि प्रधानमन्त्री कार्कीले सच्याएको सूचीमा स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा डा. सुधा शर्मा गौतम र युवा तथा खेलकुदमन्त्रीमा बब्लु गुप्ताको नाम मात्र राष्ट्रपति कार्यालयमा सिफारिस गरिएको छ । दुवैजनाको आजै शपथ लिने कार्यक्रम रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री