काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलज्यूसमक्ष नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति निवास शीतलनिवासमा आज आयोजित विशेष समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा डा. सुधा शर्मा गौतम र युवा तथा खेलकुद मन्त्रीमा बब्लु गुप्ताले शपथ लिएका हुन्। यससँगै प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा सरकार विस्तारले आंशिक पूर्णता पाएको छ।
यद्यपि, मन्त्री नियुक्तिका लागि सिफारिस गरिएका अन्य दुई जनाको शपथ भने अन्तिम समयमा आएर रोकिएको छ। भूमि सुधार मन्त्रीमा प्रस्तावित गणपतिलाल श्रेष्ठ र श्रममन्त्रीमा सिफारिस गरिएका खगेन्द्र सुनारको शपथग्रहण हाललाई ‘होल्ड’ गरिएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।
सम्बन्धित स्रोतका अनुसार, श्रममन्त्रीमा सिफारिस भएका सुनार र भूमि सुधार मन्त्रीमा प्रस्तावित श्रेष्ठविरुद्ध विभिन्न ‘काण्ड’ र प्रमाणहरू सार्वजनिक हुन थालेपछि उनीहरूको शपथग्रहण रोकिएको हो। दुवै व्यक्तिको पृष्ठभूमि र सार्वजनिक भएका विवादित विषयवस्तुका कारण सरकारले अन्तिम समयमा यो निर्णय लिन बाध्य भएको बुझिएको छ।
यो घटनाक्रमले सरकार विस्तारको प्रक्रियामाथि प्रश्नचिह्न खडा गरेको छ भने मन्त्रीहरूको नियुक्तिपूर्व गरिने छानबिनको प्रक्रियामाथि पनि बहस सुरु भएको छ। सरकारले अब यी दुई रिक्त पदमा कसलाई नियुक्त गर्छ र विवादमा तानिएका व्यक्तिहरूको विषयमा कस्तो निर्णय लिन्छ भन्ने चासोका साथ हेरिएको छ।




